‘सरकारलाई कमजोर बनाउन राजनीतिक संयन्त्र बनाउने हल्ला चल्यो’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी (नेकपा एमाले) फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको गम्भिर आरोप लगाएकी छन् ।
आईतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रीपरिषदमा समावेश गरौंला भनेर प्रधानमन्त्री देउवाले पर्खेर बसिरहेको दाबी गरिन् ।
उनले भनिन्, ‘सबैभन्दा ठूलो पार्टी कहिले फुटला र फुटेपछि मेरो सरकार टिकाउन मन्त्रीपरिषदमा ज्वाईन गराउला भनेर पर्खेर बस्ने प्रधानमन्त्री हो ? यति कमजोर प्रधानमन्त्री । चिन्ता शेरबहादुर जी कमजोर हुनु भो भनेर होइन्, चिन्ता फेरी संसदीय व्यवस्था कमजोर हुन्छ भन्ने हो । यो व्यवस्थालाई कमजोर बनाउने काम नगर्न प्रधानमन्त्रीलाई मेरो अनुरोध छ ।’
सांसद पौडेलले राजनीतिक संयन्त्र बनाउने हल्ला चलिरहेको भन्दै त्यसको बन्धक नबन्न पनि प्रधानमन्त्री देउवालाई आग्रह गरिन् । उनले केपी ओली नेतृत्वको सरकारलाई अप्ठयारोमा पार्न पनि त्यस्तै खालको राजनीतिक संयन्त्रको मागले भएको दाबी गर्दै अहिले पनि सरकारलाई कमजोर बनाउन सो प्रयास गरिएको र त्यसको बन्धक नबन्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइन् ।
सांसद राईले राजनीतिक संयन्त्र बनाउने हल्लाकै कारण प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद् बिस्तार गर्न नसक्ने लज्जाजनक अवस्था आएको प्रतिक्रिया समेत दिइन् । संविधानले नचिन्ने राजनीतिक संयन्त्र बनाउने काम गर्न नहुने उनको तर्क थियो । सांसद पौडेलले प्रधानमन्त्री देउवालाई पटक पटक संसदप्रति जवाफदेही बन्न तर राजनीतिक संयन्त्रको बन्धन नबन्न आग्रह गरिन् ।

प्रतिक्रिया