शनिबार, वैशाख २२, २०८१

एटीएम बुथमा घण्टौं लाइन, ९ हजार निकाल्न पनि हम्मे !

नेपालखोज २०७८ साउन २६ गते ८:१८
तस्बिर : एएफपी

काठमाडौं । सेनाले ६ महिनाअघि सत्ता कब्जा गरेको म्यानमारमा अहिले भीषण आर्थिक संकट देखापरेको छ । म्यानमारमा अहिले नगद (क्यास) को कमी छ । जसको परिणाम स्वरूप मानिसहरु नगद निकाल्न बिहान ३ बजेदेखि नै एटीएम बुथमा लाइन लाग्न थाल्छन् ।

यद्यपि कैयन् घण्टा लाइनमा बसे पनि उनीहरुले आफ्नो पैसा निकाल्न सकिरहेका छैनन् । स्थानीय बैंक तथा एटीएम बुथहरुमा देखिएको भिड कम गर्न हरेक दिन एटीएम मेसिनमा नगद राखे पनि त्यसले जनतालाई सुविधा पुग्न सकेको छैन । नगदको कमीकै कारण अहिले त्यहाँ एउटा एटीएम कार्डबाट एकदिनमा नौ हजारभन्दा बढी नगद निकाल्न नपाइने नियम लागु गरिएको छ ।

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार म्यानमारमा आर्थिक संकटको असर स्वरुप नगदको त कमी देखिएकै छ नगद अभावमा मानिसहरु अत्यावश्यक चिजबिज किन्नबाट वञ्चित छन् ।

यता व्यापारीहरुले नगद अभावमा आफ्ना कामदार तथा ऋणदाताहरुलाई भुक्तानी दिन सकिरहेका छैनन् । यसबीच म्यानमारको करेन्सी क्याटको मूल्य डलरको तुलनामा २० प्रतिशतले अवमूल्यन भएको छ । मुद्राको सञ्चिति गर्ने जमाखोरीका कारण व्यापारीहरु अहिले डिजिटल पेमेन्टको साटो नगद कारोबारलाई नै प्राथमिकता दिइरहेका छन् ।

भनिन्छ अहिले म्यानमारमा करेन्सीका दलालहरुले अनलाइन भुक्तानीको साटो नगद भुक्तानीमा ७ देखि १५ प्रतिशत कमिसन दिइरहेका छन् । यी दलालहरुलाई म्यानमारको सेनाका हाकिमहरुको संरक्षण भएको बताइन्छ । सेनाका हाकिमहरुको आर्थिक स्वार्थकै कारण म्यानमार गम्भीर वित्तीय संकटको खाडलमा धकेलिएको विज्ञहरु बताउँछन् ।

अन्तर्राष्ट्रिय क्राइसिस ग्रुपका वरिष्ठ सल्लाहकार रिचर्ड होर्सेका अनुसार गम्भीर आर्थिक संकटका कारण सरकार, बैंक तथा अर्थव्यवस्थाप्रति आममानिसको विश्वास कम हुँदै गएको छ । म्यानमारमा सेनाले जबरजस्ती सत्ता कब्जा गरेपछि भइरहेको हिंसामा करिब एक हजार मानिस मारिएका छन् जसमा अधिकांशको मृत्यु सेनाको गोली लागेर भएको छ ।

नागरिक शासन बहालीका लागि त्यहाँ सेनाकाविरुद्ध चलिरहेको आन्दोलनका कारण आर्थिक गतिविधि ठप्पजस्तै भएको छ । सेनाले अनलाइल भुक्तानीमा रोक लगाएपछि यो संकट बढेको हो भने इन्टरनेट सेवा अवरुद्ध भएका कारण त्यहाँ मानिसहरु अनेकन किसिमका समस्याको सामना गर्न बाध्य छन् ।

यदि म्यानमारको यो आर्थिक संकट समयमै नसुल्झिए स्थिति थप भयावह हुनेछ । यता सैनिक सरकारले भने नगद नोटको समस्या चाँडै समाधान हुने बताउँदै त्यसपछि स्थिति सामान्य हुने दाबी गरिरहेको छ ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा)

प्रतिक्रिया