शुक्रबार, जेठ ४, २०८१

सम्पूर्ण बुबाहरु प्रति समर्पित

सुनिल उलक २०८० भदौ २८ गते १२:१५

कुशे औसी हुन त नामले यो केवल घरमा कुश भित्राउने औसी झै लाग्छ । तर यो दिन बुबालाई सम्झने दिन हो । बुबा प्रति अगाढ माया तथा प्रेम प्रकट गर्ने दिन हो । हामी सदैव आमाको वात्सल्यलाई सम्झन्छौ ।

बुबाको माया ओझलमा पारिरहन्छौ । बुबाको समर्पण हामी देख्न सक्दैनौ । बुबाको दिनरातको खटाइ अनि झर्न नसकेका आँसुको पिडा हामीले देख्न सक्दैनौ । आफू एकसरो कपडामा बर्षौ काट्दा पनि छोराछोरीको लागी सुर्ता गरिरहन्छ । फाटेको चप्पलमा किल्ला गाडेर आफू हिड्छ तर छोराछोरीको लागी नयाँ जुत्ताको जोहो गरिदिन्छ ।

बुबाको माया हामी देख्दैनौ । बुबाको मैला कपडा, छिया छिया परेका हात, फाटेको चप्पल र फुङ्ग उडेको केशमा आफूलाई सभ्य ठान्ने हामी बुबाको साथ हिड्न लाज मान्छौ । बुबाले पहिल्यै यि सबै बुझेर तिमीहरु जादै गर म एकछिनमा आँउछु भन्दै छोराछोरीको लाजलाई छोपिदिन्छ ।

बुबा महान त्यागी हुने गर्दछ । तर हामी बुझ्दैनौ । बुबाको साथ दिन लजाउने हामी बुबा गुमाए पछि पण्डितलाई मिष्ठान्न खुवाएर बुबा अघाउनु हुन्छ भन्ने भुल गर्छौ । पण्डितलाई राम्रा लुगा एकसरो दान गरेर बुबाले स्वर्गमा सफा लुगा लगाउने कल्पना गर्छौ ।

समाज स्वार्थी भएको छ । बुबा, आमाको खप्की सहिरहन्छ । जीवनको उत्तरार्धमा छोराछोरीको खप्की पनि सहिदिन्छ । बुबाको आँखामा आँसु पिउने सामर्थ्य हुन्छ । त्यसैले नरुने आँखालाई हामी सधै पिडा दिन्छौ ।

बुबाको मुख हेर्ने दिन मात्र होइन बुबालाई सधै सम्झने गरौ । बुबालाई एक दिन मिष्ठान्न भोजनको ओइरो होइन सधै एकसरो मिठो खान दिऔ । मृत्युपछि पण्डितलाई दान गर्न होइन जीवित हुँदा नै राम्रो सुकिलो कपडाको जोहो गराइदिँउ ।

बुबा हुनेले नै बुबाको सेवा गर्ने हो बुबा नहुनेले पण्डितलाई दान गरेर वा मिष्ठान्न खुवाएर बुबाले पाउनुहुन्न । सबैले मनन गरौ । मन्दिरमा गएर भगवान खोज्ने होइन घरमा रहेका बुबाआमाको सेवा गरेर धर्म कमाउने हो । बृद्ध बुबाआमाको सेवामा जुन धर्म हुन्छ । त्यो कुनै धर्मान्ध संस्थालाई करोडौ दान गर्नुभन्दा ठूलो धर्म हुन्छ ।

आज बुबाको मुख हेर्ने औसीको दिन मसंग रहेका बुबाका साथ छोराछोरीको तस्विरहरु राख्दैछु । पचासौ वर्ष पुराना यि तस्विरका छोराछोरीहरु नै आज बाजे भइसकेका होलान ।

प्रतिक्रिया