जयसिंहको घटनाबारे सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको आलोचना

नेपालखोज २०७८ साउन २६ गते १२:४१

काठमाडाैं । राष्ट्रिय सभाका सांसदहरुले तुइन तर्ने क्रममा महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामीको घटनाबारे अझै पनि सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद दीपा गुरुङले महाकाली नदीमा बेपत्ता भएका धामीको घटनाको सत्यतथ्य बाहिर ल्याउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए ।

उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका धामीको घटना जघन्य अपराध भएको बतााए । सांसद गुरुङले शहीद गोविन्द गौतमलाई गोली हानेर एसएसबीले मारेको घटना नेपाली जनताको मानसपटलमा ताजै रहेकोले यो घटनाको चाँडो सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

त्यसैगरी सांसद नैनकला ओझाले कालापानी लिपुलेक, लिम्पियाधुराको भारततद्वारा मिचिएको जमिन छिटो भन्दा फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराए । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले उक्त जमीन फिर्ता हुनुपर्छ भन्दै गर्दा कसको निर्देशनमा विवाद अघि सारेर सरकारले गरेका राम्रा काममा भाँजो हालेको भन्दै प्रश्नसमेत गरे ।

अर्का सांसद प्रकाश पन्तले अपाङ्गता ऐन कार्यान्वयन गर्ने गरी आएको अपाङ्गता अधिकार सम्बन्धि नियमावलीमा आपत्ति जनाउनुभयो । उहाँले यो नियम व्यवहारमा लागू हुने गरी पुनर्विचार र पुनर्लेखन गर्न सरकारलाई सुझाव दिए ।

उनले अपाङ्गता अधिकार ऐन सरोकारवालाहरुलाई बाहिर राखेर ल्याएको समेत आरोप लगाए ।

प्रतिक्रिया