शनिबार, जेठ ५, २०८१

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

नेपालखोज २०७८ साउन २७ गते २०:१०

रुपन्देही । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि आजदखि सुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको हो ।

पूर्वनिर्धारित तालिका अनुसार आज १ बजेदेखि विशेष अधिवेशन सुरु भएको थियो । त्यसअघि अधिवेशनमा नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले अविश्वासको प्रस्ताव गरेका थिए। नेता कानोडियाले ढिलै भए पनि राजीनामा दिएको भन्दै मुख्यमन्त्री पोखरेललाई धन्यवाद दिए।

बैठकमा सहसराम यादव, तारा जिसी, कृष्णध्वज खड्काले अविश्वास प्रस्तावमा समर्थन जनाएका थिए । अविश्वास प्रस्तावमाथि छलफल सकिएपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो ।

सभामुख पूर्णबहादुर घर्तीले पुनःप्रदेशसभाको दोस्रो बैठक सुरु गर्दै मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएपछि विशेष अधिवेशन सकिएको जानकारी गराएका थिए। संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शंकर पोखरेल मुख्यमन्त्री बनेका थिए । विपक्षी गठबन्धनमा ४१ सदस्य छन् । गठबन्धनबाट मुख्यमन्त्री पदका लागि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

बैठक सुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिए पनि प्रदेशसभा बैठक पूर्वनिर्धारित कार्यसूचीअनुसार चलेको थियो । प्रदेशसभा बैठकबाट सत्ता पक्षका सदस्यको उपस्थिति थिएन ।

प्रतिक्रिया