आइतबार, वैशाख १४, २०८२

सम्झनामा सुशील कोइराला !

नेपालखोज २०७८ साउन २८ गते १०:११

काठमाडौं । आज प्रजातान्त्रिक आन्दोलनका योद्धा नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८२औं जन्म जयन्ती हो ।

नेपालको वर्तमान संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला करिब २० महिना मुलुकको कार्यकारी प्रमुख भएका थिए । कोइराला कांग्रेसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुँदै १२औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।

लामो समय अर्बुद रोगसँग जुधेका कोइराला अविवाहित नै रहे । उनको निधन ७६ वर्षको उमेरमा २०७२ माघ २६ गते राति १२.५० मा काठमाडौंको महाराजगन्जस्थित निवासमा भएको थियो । सामान्य ज्वरोका कारण अस्वस्थ भएका कोइरालाको निधन निमोनियाँका कारण भएको चिकित्सकहरुले बताएका थिए ।

पार्टीभित्र सन्त, भद्र र निष्ठावान् नेताका रुपमा परिचित नेता कोइराला पार्टी संगठनभित्र कुशल संगठक पनि थिए । त्यागी र निष्ठावान् नेताका रुपमा स्थापित तथा सादा जीवन एवं उच्च विचारका धनी कोइराला बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिका पक्षधर मानिन्थे ।

कोइराला ‘सोसलिस्ट इन्टरनेसनल’ को उपाध्यक्षसमेत भएका थिए । २०१० सालदेखि नै राजनीतिमा सक्रिय रहँदै जेल-नेल, क्रूर यातना, निर्वाशन आदि भोग्ने उनी गिरिजाप्रसाद कोइरालाका उत्तराधिकारी पनि मानिन्थे । नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि गणतन्त्र स्थापनासम्म उनको योगदान अविस्मरणीय छ ।

प्रतिक्रिया