इतर पक्षले महाधिवेसन भाँड्न लागेको कांग्रेस जिल्ला सभापतिकाे निष्कर्ष

काठमाडाैं । नेपाली कांग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरुले इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन् । ललितपुरको समिट होटेलमा बिहीबार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरुको बैठकले इतर पक्षीय सभापतिहरुको बैठकप्रति आपत्ति जनाउँदै इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका हुन् ।
बैठकपछि संस्थापन पक्षका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहोराले १४औं महाधिवेशनलाई फोकस गरेर छलफल भएको बताए । उनले महाधिवेशनको समय सकिन लागेको जनाउँदै दश-बाह्र दिनमै महाधिवेशन सिध्याउन सक्ने बताए ।
नेपाली कांग्रेस सप्तरी जिल्ला सभापति दिनेश यादवले कांग्रेसले सप्तरी र बारा जिल्लालाई पनि नयाँ क्रियाशील सदस्यता दिनुपर्ने माग राखेको बताए । उनले जिल्लाका केही वडाहरुले यसमा असन्तुष्टि व्यक्त गरेको भन्दै नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र रोक्नुपर्ने माग राखे ।
नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सभापति प्रदीप सुनुवारले क्रियाशील सदस्यहरुको विवाद नरहेको बताए । उनले सर्वपक्षीय रुपमा बनेको छानबिन समितिले सर्वपक्षीय रुपमै निर्णय गरेकोले विवाद नरहेको बताए । निर्णय भइसकेको कुरा निकाल्नु अधिवेशनलाई धकेल्ने कुरा मात्रै भएको उनको गुनोसो छ ।
नेपाली कांग्रेस बाराका जिल्ला सभापति जयचन चौरासियाले विधिसम्मत रुपमा बारा र सप्तरीका क्रियाशील सदस्यहरुको फाइल खोल्नुपर्ने बताए ।
उनले विधिसम्मत आएका नयाँ र पुराना समावेशी भएर आएका नयाँ र पुराना, सबै सदस्यहरुलाई सदस्यता दिनुपर्ने माग राखे ।

प्रतिक्रिया