ओलीलाई मेन्टली डिसअर्डर भनी दिइएको अभिव्यक्तिप्रति एमालेको आपत्ति, रेकर्डबाट हटाउन ध्यानाकर्षण

नेपालखोज २०७८ साउन २८ गते १७:५८

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना नेता तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्टली डिसअर्डर भनी भनिएको शब्दप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले पुर्व प्रधानमन्त्री ओली मेन्टली र फिजिकली ठिक नभएको अभिव्यक्ति दिएपछि प्रमुख सचेतक भट्टराईले आपत्ति जनाएका हुन् । उनले मेन्टली डिसअर्डर भन्ने अधिकार कसले दियो भनी प्रश्न गरेका छन् । उनले मर्यादित र सम्मानित सदनमा अमर्यादित र संसदलाई नसुहाउने अभिव्यक्तिहरु आफूहरुका लागि गम्भीर आपत्तीजनक भएको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, “मैले नियम २६ बमोजिम नियमापत्ति गर्न खोजेको हो । भर्रखरै बोल्ने प्रतिनिधिसभा सदस्य ज्युले व्यक्तिप्रति इंगित मानसिकता खराब भएको, मेन्टली डिसअर्डर भएको जस्ता अभिव्यक्तिहरु पटक-पटक दोहोर्याएर भन्नुभयो । म प्रश्न गर्न चाहन्छु । त्यो भन्ने अधिकार उहाँलाई कहाँबाट छ ? उहाँसंग के प्रमाण छ ? के तथ्यका आधारमा उहाँले यो भन्दैै हुनुहुन्छ ? सभामुखमार्फत म प्रश्न गर्न चाहन्छु प्रत्येक सदस्यले प्रत्येक सदस्यलाई यहाँ स्वास्थ्यको परीक्षणको बारेमा बताउन मिल्छ कि मिल्दैन ? उहाँसंग आधार के छ ? कसले प्रमाणित गरेको छ ? त्यसकारण यो मर्यादित ठाउँमा, सम्मानित ठाउँमा, जनताको सार्वभौम सत्ताको प्रयोग हुने यो महत्वपुर्ण निकायमा अमर्यादित खालका र संसदलाई नसुहाउने अभिव्यक्तिहरु हाम्रो लागि गम्भीर आपत्तीजनक छ । र यो रेकर्डबाट हटाईयोस् । अन्यथा नेकपा एमाले यो कुरालाई कुनै हालतमा पनि सहदैन भन्ने कुरा सभामुख मार्फत जानकारी गराउन चाहन्छु । ”

यसअघि बोल्दै नेकपा माओवादी केन्द्रका सांसद यादवले पुर्व प्रधानमन्त्री ओली मेन्टली र फिजिकली पनि ठिक नभएको र आफूले सो कुरा एउटै पार्टी भएका बेला भन्दै पनि आएको बताएका थिए । उनले आफूखुसी काम गर्न रोक लगाएपछि वर्तमान सरकारलाई परमादेशको सरकार भनी टिप्पणी गरेको भन्दै सांसद यादवले आपत्ती जनाए ।

जनादेशकै आधारमा संविधान बनेको र प्रतिनिधिसभा पनि जनादेशकै थलो भएको भन्दै उनले पुनःस्थापित प्रतिनिधिसभालाई परमादेशबाट व्यूँतिएको र वर्तमान सरकार पनि परमादेशबाटै भएको भन्ने अभिव्यक्ति दिने ओलीलाई राजीनामा गर्न चुनौति दिए । उनले परमादेशबाट संसद व्यूँतिएको अभिव्यक्ति दिने सबैलाई राजीनामा गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया