आइतबार, वैशाख १६, २०८१

छोरीको आमा बन्न चाहन्छिन् मलाइका !

नेपालखोज २०७८ साउन २८ गते २०:०१

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले एक खुलासा गर्दै भनेकी छिन्- लामो समयदेखि म एक छोरीकी आमा बन्ने चाहनामै छु । आमा बन्ने आफ्नो सपना पूरा गर्न त्यसको प्लानिङसमेत गरिरहेको उनले जनाउ दिएकी छन् ।

मलाइका आफ्नो डेयरिङ स्टायललाई लिएर मनोरञ्जनको संसारमा सधैं चर्चामा रहन्छिन् । मलाइकाको व्यावसायिक र व्यक्तिगत दुवै जीवन
ऐनाजस्तै छ । अरबाज खानसँगको पारपाचुके होस् वा अर्जुन कपुरसँगको डेट मलाइका हरेक मुद्दामा निर्भीक रूपमा प्रस्तुत हुन्छिन् ।

मलाइकाले हालै रियलिटी शो सुपर डान्सर च्याप्टर-४ को निर्णायकको भूमिका निर्वाह गर्ने क्रममा आफ्नो एउटा दबेको इच्छा सार्वजनिक गरेकी हुन् । मलाइका भन्छिन्, ‘एउटी छोरीको आमा बन्न चाहन्छु । यदि यो सम्भव नभए कुनै बच्ची एडप्ट गरेर भए पनि आफ्नो सपना पूरा गर्ने इच्छा छ ।’ मलाइकाका अनुसार उनको यो चाहना पुरानै हो । भनिन्छ मलाइकाले चाँडै कुनै बालिकालाई एडप्ट गर्न सक्छिन् ।

मलाइका ४७ वर्षकी भइन् । सलमान खानका भाइ अरबाज खानसँग सम्बन्धविच्छेद गरेपछि उनी लामो समयदेखि बोनी कपुरपुत्र अर्जुन कपुरसँगको डेटमा रमाइरहेकी छन् ।

मलाइका गम्भीरतापूर्वक आमा बन्ने विषयमा सोच-विचार गरिरहेकी छन् । मलाइकाका अनुसार उनलाई एउटी छोरीको आवश्यकता छ । अहिले उनी एक छोराकी आमा हुन् । तर मलाइकाको चाहना छ- एउटी छोरी पनि होस् जसका साथ उनी आफ्ना भावना मात्र होइन आफ्ना शृंगार प्रसाधन, जुत्ता तथा पहिरन आदि पनि साट्न सकून् ।

प्रतिक्रिया