कुन-कुन प्रदेशमा हुँदै छ वर्षा ?

नेपालखोज २०७८ साउन २९ गते ७:२२

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भागनजिक रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज शुक्रबार दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ ।

आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, वाग्मती प्रदेशका थोरै स्थानहरुमा र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, २, वाग्मती प्रदेशका थोरै स्थानमा र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ ।

यसकारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ । -फाइल तस्बिर

प्रतिक्रिया