देउवा पक्षका जिल्ला सभापति भेलाको निष्कर्ष- विशेष महाधिवेशन अस्वीकार्य

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन स्वीकार्य नभएको निष्कर्ष निकालेका छन् ।
२२ जिल्लाका सभापतिको साउन २७ र २८ गतेको भेलाले शीर्ष नेता तहबाटै विशेष महाधिवेशनको मागका सम्बन्धका आवाज सुनिनु दुःखद् भएको निष्कर्षसमेत निकालेको छ । कांग्रेसमा निर्धारित मितिमा महाधिवेशन गर्न नसकिने अवस्था उत्पन्न भएमा विशेष महाधिवेशन गरेर भए पनि पार्टीको वैधानिकता जोगाउनुपर्ने केही नेताहरूले राखेको धारणाप्रति जिल्ला सभापतिहरूको यस्तो निष्कर्ष निकालेका हुन् ।
भेलाले पार्टीको क्रियाशील सदस्यता छानबिन समितिले टुंगो लगाएका क्रियाशील फाइलबाहेक विवादमा आएका बारा, सप्तरीलगायत जिल्लाका फाइल मात्र खोली विधानसम्मत निर्णय गर्न अनुरोध गरेको ललितपुर कांग्रेस सभापति मदनबहादुर आमात्यले जानकारी दिए ।
भेलाले सहमति, लोकतान्त्रिक विधि, कानुन र संविधानसँग नबाझिने गरी महाधिवेशन कसरी गर्ने भन्नेमा केन्द्रित भएर निर्णय गर्नसमेत पार्टीलाई अनुरोध गरेको छ । अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेका सदस्यको समायोजनका सम्बन्धमा वडादेखि सबै तहबाट स्वीकृत भई आएको र काम सकिएको फाइल फेरि खोल्नुपर्छ भनी बखेडा झिक्नु महाधिवेशन हुन नदिने बहाना भएको जिल्ला सभापतिहरूको निष्कर्ष छ ।
भेलाले २०७४ को निर्वाचनमा केन्द्र र प्रदेशमा अनपेक्षित हार व्यहोरेको कांग्रेसले केन्द्रीय सभापति शेरबहादुर देउवाको राजनीतिक सुझबुझ, धैर्यता र समयानुकूल निर्णयका कारण चुनावको ४० महिनापछि नै केन्द्रमा नेतृत्वसहित र विभिन्न प्रदेशमा समेत सरकारमा सामेल हुन सफल भएको निष्कर्ष निकालेको छ । छलफलको निष्कर्षसहित केन्द्रीय सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराइएको पनि उनले बताए । -रासस

प्रतिक्रिया