‘काबुलमा रहेको दूतावास बन्द गर्ने योजना छैन’
अफगानिस्तानमा थुप्रै नेपाली श्रमका लागि पुगे पनि उनीहरुको स्थिति भने अज्ञात नै छ ।

काबुल । अफगानिस्तानको लगातार बिग्रिरहेको सुरक्षा स्थिति बीच भारतले त्यहाँ भएका हिन्दु तथा सिख परिवारहरुलाई सुरक्षित रुपमा बाहिर निस्कन मद्दत गर्ने भएको छ ।
अफगानिस्तानको नाजुक स्थितिप्रति लगातार दृष्टि पुर्याइरहेको नरेन्द्र मोदी नेतृत्वको हिन्दुवादी सरकारले तत्काल काबुलस्थित भारतीय दूतावास बन्द गर्ने कुनै योजना पनि नभएको स्पष्ट पारेको छ ।
तालिबानको कब्जामा पुगेका क्षेत्रका हिन्दु तथा सिख समुदायका मानिसहरुको चिन्तामा सहमति जनाउँदै भारतीय विदेश मन्त्रालयले उनीहरुलाई त्यहाँबाट सुरक्षित निस्कन मद्दत गर्ने कुरा बताएको हो । यद्यपि यसमा भारतीयहरु मात्र पर्छन् कि अन्य मुलुकका हिन्दु नागरिकलाई पनि सहायता पुर्याइन्छ भन्नेबारे स्पष्ट छैन । अफगानिस्तानमा थुप्रै नेपाली श्रमका लागि पुगे पनि उनीहरुको स्थिति भने अज्ञात नै छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताका अनुसार भारत सरकारले यसअघि नै ३८० भन्दा बढी परिवारलाई भारत फर्कन मद्दत गरेको थियो । यदि अझै पनि हिन्दु तथा सिख समुदायका मानिसहरुले त्यहाँबाट सुरक्षित निस्कन चाहने हो भने उनीहरुलाई हर-सम्भव सहायता प्रदान गरिने प्रवक्ताले बताए । अफगानिस्तानमा अहिले पनि ३० देखि ४० सिख परिवार भएको बताइन्छ । यसबीच भारतीय विदेश मन्त्रालयले अफगानिस्तानमा भएका भारतीयहरुलाई चाँडोभन्दा चाँडो स्वदेश फर्कन दिएको चेतावनी दोहोर्याएको हो ।
काबुलस्थित भारतीय दूतावासले दुई दिनअघि पनि अफगानिस्तानमा भएका सबै भारतीय नागरिकलाई घर फर्कन भनेको थियो । अफगानिस्तानमा चलिरहेका भारतीय सहायता परियोजनामा कार्यरत भारतीय कम्पनीहरुलाई पनि व्यावसायिक हवाई उडान जारी रहँदै आफ्ना सबै कर्मचारीलाई अफगानिस्तानबाट बाहिर निकाल्न पनि भनिएको छ । अधिकतर कम्पनीले आफ्ना कर्मचारीहरुलाई फिर्ता पनि बोलाइसकेका छन् ।
प्रतिक्रिया