शनिबार, असार १४, २०८२

अफगानिस्तानका आधा प्रान्त तालिबान लडाकुको नियन्त्रणमा

नेपालखोज २०७८ साउन ३० गते १६:५०

काबुल । अफगानिस्तानमा कुल ३४ प्रान्तमध्ये आधाभन्दा बढी प्रान्त तालिबान लडाकूको नियन्त्रणमा पुगेको छ । तालिबान लडाकूले नियन्त्रणमा लिएका १८ प्रान्तमध्ये आधा दर्जनभन्दा बढी प्रान्त पछिल्लो २४ घण्टामा मात्रै नियन्त्रणमा लिएका हुन् ।

पछिल्लो पटक तालिबान लडाकूको नियन्त्रणमा परेका प्रान्तमा कन्दाहर, हेल्मान्ड, हेरात, बाड्घीस, घोर, लोगार, जाबुल र ओर्जुगान प्रान्त रहेका छन् ।

तीबाहेक पाक्तीया र वार्डाक प्रान्तका भने राजधानी मात्रै सरकारी नियन्त्रणमा रहेका छन् । अन्य सवै भाग तालिबान लडाकूको नियन्त्रणमा रहेका छन् ।

लडाकूले पूर्वमुजाहिद्धिन नेता तथा जमात ए इस्लामी पार्टीका वरिष्ठ नेता इस्माइल खानलाई पनि नियन्त्रणमा लिएका छन् । पछिल्लो समय अफगानिस्तानमा संर्घषरत तालिबान लडाकू बढी आक्रामक देखिएका छन् । उनीहरुले धेरै ठाउँमा आक्रमण गरेका छन भने दैनिकरुपमा विभिन्न ठूला सहर आफ्नो नियन्त्रणमा पार्न सफल भएका छन् ।

एकपछि अर्को सहर कब्जा गरिरहेको तालिबान लडाकुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार पनि केही दिन अगाडि नै कब्जा गरेको छ । कन्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो भने रणनीतिक हिसावले समेत महत्वपूर्ण क्षेत्र हो ।

अमेरिकी सैनिक फिर्ता भएपछि तालिबान लडाकूको गतिविधि पनि बढी आक्रामक भएको देखिएको छ । उनीहरुको नियन्त्रण बढ्दै गएपछि पश्चिमा देशले आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षितरूपमा स्वदेश फर्काउन थालेका छन् ।

संयुक्त राष्ट्रसंघका अन्तरराष्ट्रिय निकायले पनि अफगानिस्तानमा बढ्दै गएको हिंसा र नियन्त्रणको अभियान प्रति चासो र चिन्ता व्यक्त गरेका छन् ।

अफगानिस्तानका राहतकर्मीले झन्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसंघले बताएको छ ।

देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्नसक्ने मूल्यांकन गरिएको राष्ट्रसंघका मानवीय सहयोगमामिला अधिकारीले बिहीबार बताएका हुन् ।

प्रतिक्रिया