‘पार्टी एकताका लागि हामीहरु अन्तिम पर्खाइमा छाैं’

नेपालखोज २०७८ साउन ३० गते १७:४५

नेपालकाठमाडाैं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाईमा रहेको बताएका छन् ।

नेता नेपालले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हटन नसकिने अडान पनि राखे । शनिबार वाग्मती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि अझै पनि कोसिस गर्ने स्पष्ट पारे ।

निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरु तयार रहेको वरिष्ठ नेता नेपालको भनाई छ ।

नेता नेपालले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको पनि स्मरण गराए । उनले संविधानको रक्षाका लागि, प्रतिगमन हुन नदिनका लागि, लोकतन्त्रको रक्षाका लागि आफूहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वास मत दिनु परेको पनि दोहाेर्याए ।

प्रतिक्रिया