शुक्रबार, जेठ ४, २०८१

डब्ल्यूएचओले थाल्यो यी ३ औषधिको प्रयोग

नेपालखोज २०७८ साउन ३१ गते १२:२८

काठमाडौं । विश्व स्वास्थ संगठनले (डब्ल्यूएचओ) ले ‘साझा परीक्षण’ अन्तर्गत तीनवटा औषधिको प्रयोग सुरु गरेको घोषणा गरेको छ । जुन आधारभूत रुपमा कोरोनाविरुद्धका औषधि होइनन् । कोभिड-१९ मा प्रयोग गर्न सकिने प्रभावकारी औषधि खोज्ने क्रममा यो ट्रायल थालिएको हो । यी औषधि अस्पतालमा भर्ना भएका कोभिडका बिमारीहरुमा प्रयोग गरी जाँच गरिनेछ।

विश्व स्वास्थ्य संगठनले तीनवटा औषधिको अन्तर्राष्ट्रिय ट्रायल सुरु गरिएको कुरा बताएको छ । यो प्रयोगमा अस्पतालमा भर्ना भएका बिमारीहरुको स्थिति औषधिले कति फरक पार्छ वा बिमारीको अवस्थामा के-कति सुधार आउँछ भन्ने कुरा हेरिनेछ । आर्टसुनेट (Artesunate), इमेटिनिब (Imatinib) तथा इनफ्लिक्सिमेब (Infliximab) नाम गरेका यी औषधि ५२ वटा देशका ६ सयभन्दा बढी अस्पतालमा स्वयंसेवा गर्न इच्छुक बिमारीहरुमा टेस्ट गरिनेछ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयेसस भन्छन्- ‘कोभिड-१९ का बिमारीहरुका लागि बढी प्रभावकारी तथा सुलभ उपचार पत्ता लगाउनु अहिलेको पहिलो आवश्यकता हो ।’ यी तीनमध्ये आर्टसुनेट नामको औषधि गम्भीर प्रकृतिको मलेरियाको उपचारमा प्रयोग गरिन्छ भने इमेटिनिब खास किसिमको क्यान्सरलाई रोक्न प्रयोग गरिन्छ । अर्को औषधि इनफ्लिक्सिमेबबाट इम्युन सिस्टमसम्बन्धी रोग जस्तो जोर्नीको पीडा तथा क्रोनका बिरामीको उपचार गरिन्छ ।

यी तीनवटै औषधिको यो प्रयोग कोरोना भाइरसविरुद्ध प्रभावकारी उपचार खोज्ने विश्व स्वास्थ संगठनको अभियानको दोस्रो चरणको प्रयोग हो । यसअघि ‘साझा परीक्षण’ को पहिलो चरणमा ३० देशका ५ सय अस्पतालमा १३ हजार बिरामीमा चारवटा औषधिको असर मूल्यांकन गरिएको थियो जसको प्रारम्भिक नतिजा अक्टोबर २०२० मा जारी गरिएको थियो । उक्त नतिजाअनुसार रेमडेसिभिर, हाइड्रोक्सिक्लेरेक्विन, लोपिनाविर र इन्टरफेरनले कोभिड-१९ का बिरामीलाई फाइदा पुर्‍याएको पाइएन । पहिलो चरणको यो परीक्षणको अन्तिम नतिजा आगामी महिना सार्वजनिक गरिने सम्भावना छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया