संसद् भवन बनाउन पर्याप्त बजेट आवश्यक छ : संसदीय समिति

नेपालखोज २०७८ साउन ३१ गते १७:१९


संसदीय समितिले सिंहदरवारमा निर्माणाधिन संघीय संसद भवनको लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिका पदाधिकारीहरुको टोलीले आईतबार निर्माणाधिन भवनको स्थलगत अवलोकन गर्दै सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

समितिकी सभापति कल्याणी खड्काले सरकारले संसद भवनको निर्माणको काम समयमै सक्न बजेटको पर्याप्त व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले भवन निर्माण कार्यमा खटिने श्रमिकहरुका लागि तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था गर्न र निर्माणस्थल वरपरको फोहोरको पनि तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिएकी छन् ।


अवलोकन टोलीलाई सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले संसद भवन परिसरभित्र निर्माण भईरहेका १२ वटा ब्लकहरुको कार्यप्रगति विवरण तथा देखिएका समस्याबारे समितिका पदाधिकारीहरुलाई जानकारी गराएका थिए । सिंहले कोभिडका कारण अपेक्षा अनुसार निर्माण कार्यले गति लिन नसकेको प्रष्ट्याएका छन् । उनले अन्तर्राष्ट्रिय बजारबाट निर्माण सामग्री खरिद गरि ल्याउने काममा समेत कोभिडले समस्या पारेको संसदीय समितिका पदाधिकारीलाई जानकारी गराएका थिए ।


भवन निर्माणस्थल परिसरमा निर्माण हुने १२ वटा ब्लकमध्ये अहिले ११ वटा ब्लकहरुको निर्माणको कार्य भईरहेकोे छ भने पार्किङ ब्लकको पहिलो तल्लाको ६० प्रतिशत निर्माणको काम सकिएको छ । त्यसैगरी राष्ट्रियसभाको भुईँतल्लाको निर्माण कार्य सकिएको छ भने पहिलो तल्लाको पनि ७० प्रतिशत काम सकिएको छ । भवनको भुईँतल्लाको निर्माण कार्य ९० प्रतिशत र पहिलो तल्लाको काम २३ प्रतिशत सकिएको सचिव सिंहले जानकारी दिएका छन् ।


यसअघि सभामुख अग्नीप्रसाद सापकोटाले पनि निर्माणाधिन भवनको स्थलगत अवलोकन गर्दै निर्माण कार्य तोकिएको समयअघि नै सम्पन्न गर्न आयोजनाका पदाधिकारीहरुलाई आग्रह गर्नु भएको थियो । ६ अर्ब ९२ करोड रुपियाँको लागमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको संसद भवनको निर्माणको काम टुण्डी शेक जेभीले गरिरहेको छ । २०७६ साल असोज १६ गते शिलान्यास गरिएको भवन निर्माण कार्य २०८० बैशाख १४ गते सम्ममा सक्नुपर्ने संझौतामा उल्लेख छ ।

प्रतिक्रिया