मेलम्चीमा विपत्‌को मुख्य कारण जलवायु परिवर्तन

नेपालखोज २०७८ साउन ३१ गते २०:३०

काठमाडौं । विज्ञहरुले सिन्धुपाल्चोकस्थित मेलम्ची र त्यसवरपर क्षेत्रमा बाढी आउनुमा जलवायु परिवर्तन मुख्य कारण रहेको औंल्याएका छन् ।

मेलम्ची र त्यसवरपरको भौगर्भिक अवस्थाबारे अध्ययन गर्न गएका विज्ञहरुको टोलीले जलवायु परिवर्तनका कारण त्यस क्षेत्रमा विपत् आइपरेको प्रारम्भिक निष्कर्ष निकालेका हुन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूगर्भविद् डा. राजनकुमार दाहालले तापक्रममा ह्वात्तै वृद्धि भएका कारण त्यस क्षेत्रमा बाढीको विपत्ति आइपरेको अनुसन्धानको क्रममा आफूले पाएको जानकारी दिए ।

उनले माइनस १२ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा जलवायु परिवर्तनका कारण ५ डिग्री सेल्सियस तापक्रम हुन जाँदा सो भूगोलमा पहिरो र बाढीको चपेटामा परेको स्पष्ट पारे । भूगर्भविद् दाहालले भन, ‘जलवायु परिवर्तनका कारण हिउँ हुने ठाउँमा पानी परेको देखिएको छ । यसले प्राकृतिक विपत्ति आउनुको मुख्य कारण हो । यसको विस्तृत अध्ययन गरेर समस्या समाधानका लागि केन्द्रित हुनुपर्ने अवस्था छ ।’

भूगर्भविद् दाहालले मेलम्ची र हेलम्बु क्षेत्रमा देखिएको समाधान तत्काल समाधान हुने अवस्थामा नरहेको भन्दै सचेतसमेत गराए । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले हालसम्मका ज्ञान, विज्ञान र स्थानीय अनुभवका आधारमा त्यस क्षेत्रको भूगोलको अध्ययन सुरु गरिएको बताए । उनले ती क्षेत्रहरुको जोखिम न्यूनीकरणका लागि आगामी हिउँदसम्म विस्तृत कार्ययोजना ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आगामी हिउँदभित्र हेलम्बु र मेलम्चीको बाढीग्रस्त क्षेत्रमा सवारीसाधन चल्ने गरी आवश्यक व्यवस्था मिलाउने दाबी गर्दै निरास नहुन स्थानीयलाई आग्रह गरे । उनले मेलम्ची र हेलम्बु क्षेत्रको विपत् व्यवस्थापनका लागि आवश्यक कार्यक्रम तत्काल तयार गर्न सरकारको पनि गम्भीर ध्यानाकर्षण गराए ।

सरकारले मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीसहितको विपत् आउनुको कारणबारे अनुसन्धान गर्न विज्ञहरुको टोली गठन गरेको थियो । टोलीले स्थलगत अवलोकन गरी तयार पारेको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा तत्काल बाढी, पहिरोको समस्या समाधान हुने अवस्था नरहेको उल्लेख गरिएको छ । -फाइल तस्बिर

प्रतिक्रिया