अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीको सरकारले उद्धार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको हो ।
सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै नेपालीको उद्धार गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
विद्रोही तालिवानले राज्य सत्ता कब्जामा लिएपछि अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुको ज्यान जोखिममा परेको छ । त्यस घटनाप्रति गम्भिर चासो लिँदै त्यहाँ रहेका नेपालीहरुलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति सरकारको गम्भिर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरुलाई सकुशल शीघ्र उद्धार गर्ने । त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक रुपमा कार्य अघि बढाउन निर्देशन दिने ।’
बैठकले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको आमरण अनसनलगायतका विरोधमा कार्यक्रम फिर्ता लिन पनि आह्वान गरेको छ ।
उनीहरुका ती माग कूटनीतिक पहलमार्फत् सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै नेपाल सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको लन्डनमा जारी आमरण अनसनसहितको विरोधको कार्यक्रम फिर्ता लिन आह्वान गरिएको प्रवक्ता कार्कीले बताए । सरकारले उनीहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल सुरु गरिएको पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया