‘अफगानिस्तानमा रहेका नेपाली नागरिक सुरक्षित फर्काइने प्रतिबद्धतासँगै कार्यान्वयन हुनुपर्छ’

नेपालखोज २०७८ साउन ३२ गते १६:०२

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तुरुन्त स्वदेश फिर्ता गराउन सरकारसमक्ष माग गरेको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समय अघि नै बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले द्वन्द्व ग्रस्त मुलुक अफगानिस्तानमा भइरहेका राजनीतिक संघर्षका कारण अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन माग गरेका हुन् ।

वर्तमान सरकारले अफगानिस्तानमा संकटमा परेका नेपालीलाई आफ्नो देश छ र देशमा सरकार छ भन्नेकुराको अनुभुति गराउन नसकेको पनि उनले बताए ।

सरकारको नेपालीलाई फर्काइनेछ भन्ने प्रतिवद्धताले नपुग्ने भन्दै उनले त्यहाँ रहेका नागरिक सुरक्षित छन् र सुरक्षित फर्काइने छ भन्ने प्रतिवद्धतासँगै कार्यान्वयन पनि हुनुपर्ने बताए ।

सांसद बाँस्कोटाले नेपाल सार्क मुलुकको अध्यक्ष भएको नाताले अफगानिस्तानको घटनाप्रति सरकारको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताए ।

उनले अफगानिस्तानको राजनीतिक घटनाको सम्बन्धमा सरकारले आफ्नो दृष्टिकोण सदनमा स्पष्ट पार्न पनि माग गरे । उनले भने, ‘अफगानिस्तानको घटना के हो ? क्रान्ति हो ? प्रतिक्रान्ति हो ? हिंसा हो ? आक्रमण हो ? प्रत्याक्रमण हो ? हस्तक्षेप र प्रतिहस्तक्षेपका अनन्त श्रृंखलाहरुले थिलथिलो र खलबल्लिइरहेका त्यहाँको जनताको सुख, समृद्धि लोकतन्त्र आदी माथिको समस्या हो ? के हाम्रो देशको कुनै राष्ट्रिय, अन्तर्राष्ट्रिय र हाम्रो परराष्ट्रको कुनै दृष्टिकोण छैन ? हामी यो जान्न चाहान्छौँ सरकारले यस विषयमा सदनलाई स्पष्ट पार्नको निम्ति रुलिङ होस् भनेर माग गर्न चाहान्छौं ।’

उनले अफगानिस्तानको घटनाबाट वैदेशिक हस्तक्षेपहरु कुनैपनि स्वाधिन राष्ट्रको लागि कामयावी हुँदैनन् र अर्थहिन हुन्छन् भन्नेकुरा सिक्नुपर्ने बताए । कुनैपनि देशमा बलियो राष्ट्रवादी शक्ति, दलहरु वा राष्ट्रिय शक्तिको निर्माण हुनुपर्दछ भन्ने देखिएको पनि उनले उल्लेख गरे ।

प्रतिक्रिया