शुक्रबार, चैत १६, २०८०

‘डाक्टरी मेरो पेसा, कृषि मेरो रुचि’

मीना साउँद २०७८ भदौ १ गते ९:१७

काठमाडौं । रुचि, रहर, इच्छा अनि चाहना यी हरेक कुराहरू हाम्रो भावनासँग प्रत्यक्ष जोडिएका कुराहरू हुन् । व्यक्तिपिच्छे हरेकका इच्छा, चाहना अनि रुचि फरक-फरक खालका हुन्छन् । तर, मानिस आफ्नो पेसा अनि जिम्मेवारीमा यतिसम्म व्यस्त हुन्छ कि उसलाई आफ्नो रुचि के-हो भन्नेसम्म याद रहँदैन ।

हुन त प्राय:लाई आफ्नो जिम्मेवारी अनि कामबाट फुर्सद मिलेको समयमा घुम्न, साथीभाइसँग रमाउनलगायत अन्य कुरा गर्न मन पर्छ । तर, एउटा यस्ता डाक्टर, जो फुर्सदको समयमा बोटबिरुवाहरूसँग रमाउन मन पराउँछन्- ती हुन् पाटन अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. पवन शर्मा । उनी कृषितर्फ पनि उत्तिकै सक्रिय छन्, जसले गर्दा उनलाई नजिक अनि चिनेजानेका साथीभाइहरूले कृषक डाक्टर पनि भन्छन् ।

हुन त बारीमा बोटबिरुवा, फलफूलहरू रोप्न कसलाई मन नपर्दो होला र ? प्राय: सबैले आफ्नो बारीमा तरकारी र आँगनमा फूल रोपेका हुन्छन् नै । तर, यी डाक्टरको करेसाबारी अनि फूलबारीमा रमाउने रुचि नै हो । ललितपुरको कुसुन्ती घर भएका डा. शर्माको लोभलाग्दो करेसाबारी अनि फूलबारी छ । उनी आफ्नो बारीलाई गोडमेल गर्ने, बिरुवाहरू काँटछाँट गर्नेदेखि मलजल गर्नसमेत एक्लैले भ्याएका हुन्छन् । उनको बारीमा हरेक सिजनअनुसारका तरकारीहरू फल्छन् भने फूलबारीमा हरेक थरीथरी फूलहरू फूल्छन् ।

डा. शर्मालाई बारीमा तरकारी फलाउनु अनि थरीथरीका फूलहरू फूलाउने रहर सानैदेखि थियो । घरमा करेसाबारी अनि फूलहरू रोप्न मन लागे पनि भनेजति जग्गा नपुगेपछि उनले सातदोबाटोको घर छाडे । र, कुसुन्ती सरे । उनले भने, ‘पुरानो घरमा हुँदा सानो ठाउँमा पनि फूलबिरुवाहरू रोप्ने गर्थें । म कतै गएका बेला राम्रो फूल बिरुवाहरू देखेँ भने पनि ल्याएर रोप्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । पहिलाको घरमा जग्गा पनि थिएन । एरिया सानो थियो । त्यसैले अहिले आएर ठूलो ठाउँमा सरेको छु । ठूलो ठाउँमा फूल-बिरुवाहरू रोपेको छु ।’

काठमाडौं सहर, साइकल चढ्ने रहर !

कुसुन्ती सरेपछि उनलाई मनलाग्दी बोटबिरुवाहरू रोप्न पाएका छन् । उनले बारीमा सिजनअनुसारका तरकारीहरू रोप्छन् । फूलहरूको कलेक्सन भने उनीसँग राम्रै छ । गुलाफ मात्रै पनि करिब ४०/४३ भेराइटी (थरी) का रोपेका छन् । त्यस्तै अन्य बोटबिरुवाहरू बरपिपल, अमला, गुर्जो, असुरो, तुलसी, अश्वगन्धा, घिउकुमारीलगायत आयुर्वेदसँग जोडिएका धेरै थरीका बोट-बिरुवाहरू उनको बारीमा पाइन्छ ।

परम्परागत बोट बिरुवाहरू पनि जम्मा गर्नुपर्छ भन्ने सोचेर ती बोट बिरुवाहरू पनि जम्मा गरेको डा. शर्मा बताउँछन् । हरेक गमला-गमलामा उनले फरक-फरक खालका परम्परागत बोट बिरुवाहरू रोपेका छन् । केही बोट-बिरुवाहरू साथीभाइहरूबाट साटासाट गरेर जम्मा गरेका पनि छन् । नयाँ–नयाँ फूलको खोजीमा उनी उपत्यकाभित्रका प्रायःजसो नर्सरी पुगिसकेका छन् ।

जहाँ नर्सरी देख्छन्, त्यहाँ पसिहाल्छन् । बिरुवाका बारेमा सोध्छन् । जाति, प्रजाति, त्यसको प्रयोग यस्तै कुरा थाहा पाउन व्यस्त हुन्छन् । उनी अरुबाट पनि बोट-बिरुवाबारे ज्ञान लिन्छन् भने आफूले जानेका कुराहरू सेयर गर्न पनि रुचाउँछन् । घरहरूमा झार भएको कतिपयलाई मन पर्दैन भने उनको त हरियालीसँग पिरती नै गाँसिएको छ । दिनभर जस्तोसुकै काममा व्यस्त भए पनि एकपटक बारीमा लडिबुडी गर्न नपाए उनलाई नमज्जा लाग्छ । मानिस जस्तोसुकै व्यस्त भए पनि कसका लागि कति समय निकाल्न सकिन्छ भन्ने कुरा आफूमै निर्भर हुने बताउँछन् डा. शर्मा ।

जुनसुकै मानिसले आफ्नो पेसामा लामो समय बिताउँछ । त्यसभन्दा बाँकी रहेको समयमा हरेकले फरक–फरक कुराहरू गर्न रुचाउँछ । त्यो आ-आफ्नो ‘हबी’को कुरा पनि हो । डा. शर्मा भन्छन्, ‘डाक्टरी मेरो पेसा अनि कृषि मेरो रुचि हो ।’

फूल बिरुवाहरू रोप्न उनलाई सानैदेखि मन पर्थ्यो । उनी भन्छन्, ‘त्यसको विस्तारित रुप हो अहिलेको ।’ उनी आफ्नो पेसाबाट थोरै समय मिल्यो कि बारीमा खनीखोस्री गर्न थालिहाल्छन् । बिहान उठ्नेबित्तिकै एक-डेढ घण्टा बगैंचामा बिताउनु उनको दैनिकी हो । मान्छेले अपनाउने पेसा र रुचि जीवनका भिन्नै दुई पाटा हुन् । पेसाले यी डाक्टर हुन् । पाटन अस्पतालमा दिनभरी स्त्रीरोगबारे कुरा गर्छन्, बिरामी जाँच्छन्, सल्लाह सुझाव दिन्छन् । डाक्टरी पेसाबाट फुर्सद मिल्यो कि आफ्नो बारी सम्झिहाल्छन् ।

विशेषगरी शनिबार र बुधबार बिदाको दिन उनले बारीमा अझ बढी समय व्यतित गर्छन् । उनले व्यावसायिक रुपमा नभए पनि रहरले फूल-बिरुवा रोप्न थालेको लामो समय भइसक्यो । डा. शर्मा फूल-बिरुवाहरू रोप्न पोख्त भइसके । कुन बिरुवालाई के-के कुरा अनि कति आवश्यक पर्छ, उनलाई त्यो सबै ज्ञान छ । उनी भन्छन्, ‘फूल-बिरुवाहरू रोप्ने तरिकाहरू धेरै त लामो समयको अनुभवले नै सिकायो । त्यसपछि अहिलेको प्रविधिले त झन फूल-बिरुवाहरू रोप्ने तरिका जान्न सहज बनाइदिएको छ । जान्न मन लागेको जुनसुकै कुरा गुगलमा सर्च गर्दा सहजै उपलब्ध हुन्छ ।

फूल र तरकारीमा डा. पवनको कला (फोटो फिचर)

सामाजिक सन्जालतरि पनि सक्रिय डा. शर्माले करेसाबारीमा तरकारी अनि फूलबारीमा फूल रोप्ने मात्रै होइन आफूले उत्पादन गरेका तरकारी अनि फूलहरू अरूसँग सेयर गर्न पनि रुचाउँछन् । उनले आफ्नो बारीमा फलेका तरकारी अनि फूलहरूलाई विभिन्न आकार दिएर चित्रहरू बनाएका हुन्छन्, जसलाई उनले सामाजिक सन्जालमा पोस्ट्याउँछन् । जसमा विभिन्न भगवान्‌का चित्र, चराहरूलगायतका चित्र बनाइएको देख्न सकिन्छ । ‘यो चित्र बनाउने रुचिचाहिँ आफैं जागेर आयो । म तरकारी रोप्थेँ । आफूले रोपेको तरकारी फलेर टिप्न पाउँदा आनन्द आउँछ । आफूले रोपेको फूलहरू फूल्दाखेरि, तरकारीहरू फल्दा छुट्टै किसिमको आनन्द आउँछ । अनि त्यो टिप्दाखेरिको आनन्द सेयर गर्न मन लाग्छ,’ उनले भने, ‘कहिलेकाहीँ सुख नि सेयर गर्न मन लाग्छ दुःख नि सेयर गर्न मन लाग्छ । अनि तरकारीहरू टन्न फलेको सेयर गर्दा गर्दै विस्तारै त्यो मोडल बन्न थाल्यो । भित्र मनमा कल्पनाहरू बन्न थाल्यो । कल्पना प्रयोग गर्दा गर्दै यसरी यस्तो बन्दो रहेछ नि त ? भन्ने ध्यान मोडिँदै गयो र विस्तारै त्यो ध्यान कलातिर माडिएको मात्रै हो ।’

उनले सामाजिक सन्जालमा पोस्ट्याएका थरीथरीका यस्ता चित्रहरूले राम्रै प्रतिक्रिया पनि पाउँछन्, जसले उनलाई यसतर्फ लाग्न थप ऊर्जा दिन्छ । हरेक मानिस फरक खालको पेसामा आबद्ध हुन्छ । र, मान्छेले जुन पेसा अपनाउँछ, त्यो पेसामा सामान्यत: रुचि त हुन्छ नै । आफ्नो रुचिको काम गर्दा त्यसले सन्तुष्टि र खुसी एकैपटक दिन्छ भने त्यो खुसीले पेसामा सफल हुन मद्दत पनि गरिरहेको हुन्छ । त्यसैले त आफ्नो पेसाबाहेक अर्को कुनै क्षेत्रलाई रुचि बनाउन डा. शर्मा सुझाउँछन् ।

प्रतिक्रिया