बिहीबार, वैशाख ६, २०८१

काठमाडौं सहर, साइकल चढ्ने रहर !

साइकल चढ्दा–चढ्दा मलाई रमाइलो लाग्नुका साथै नशा पनि लागि सक्यो ।

डा. पवन शर्मा २०७८ साउन २७ गते ९:०३

रिङरोडतिर गाडी चढ्नेलाई ट्राफिक नियम थाहा छैन । उनीहरूलाई त गाडी र मोटरसाइकल मात्रै थाहा छ ।

बिरुवा भनेको हरियोपन हो । त्यो हरियोपनको रक्षा गर्न हामीले धुलो-धुँवा कम गर्नुपर्छ । हामीले काठमाडौंमा ४०/५० वर्षपहिले जस्तो हरियाली अहिले पाउन सक्दैनौं । बढ्दो सडकले हरियाली नाश हुँदै गएको छ । काठमाडौं त्यत्ति ठूलो सहर पनि होइन जहाँ, तपाईंले आफ्नो काम भ्याउनका लागि धेरै स्पिड भएका साधनहरू मात्रै प्रयोग गर्न परोस् ।

सातदोबाटोबाट महाराजगन्ज साइकलमै जाने हो भने उस्ताउस्तै समय लाग्छ होला । बरु जामले गर्दा गाडीमै ढिला हुन्छ होला । म हालसालै पनि साइकलमा महाराजगन्ज पुगेर आएको छु । गाडी र साइकलमा उस्ताउस्तै समय लाग्ने रहेछ भन्ने लाग्न थालिसक्यो मलाई । कहिलेकाहीं गाडीमा जाम लाग्यो भने त्योभन्दा बढी समय लाग्छ ।

एरिया पनि सानो छ । अर्को कुरा अहिलेको सहरीकरणले गर्दा मान्छेहरूमा धेरै रोगहरू जस्तो- ब्लडप्रेसर, डायबिटिज, धुलोधुँवाले हुने रोगहरू यी सबैको मात्रा बढ्दै छ । मानसिक रोगीहरूको संख्या पनि बढ्दै छ । मानिसको एक्सरसाइस पनि कम हुँदै छ । साइकल चलाउँदा एकातिर हरियाली प्रवर्द्धन पनि हुने, एक्सरसाइज पनि हुने अर्कोतर्फ यसले कतिपय रोगहरूलाई पनि ‘मिनिमाइज’ गर्ने भएको हुँदा साइकललाई प्रोमोट गर्नुपर्छ भन्ने सिद्धान्त पनि हो मेरो ।

No description available.

अर्को कुरा अब त साइकल चढ्दा-चढ्दा मलाई रमाइलो लाग्न थालिसक्यो । साइकलको नसा पनि लागिसक्यो । साइकल चढ्दा के सजिलो हुन्छ भने- तपाईं कहीं जानुभयो भने गाडी कहाँ पार्क गर्ने भन्ने समस्या हुँदैन । साइकल चढ्दा बीचबीचमा केही काम पर्‍यो भने पनि सहज हुन्छ । दैनिक सामान्य ४/५ किलोमिटरदेखि १८/२० किलोमिटरसम्म पनि साइकल चलाउँछु । सधैं एउटै हुँदैन कहीँले बढी पनि हुन्छ कहीँले कम हुन्छ ।

सानो-सानो ठाउँहरूमा प्रिभेन्टिभ हेल्थको हिसाबले मान्छेले हिँड्न वा साइकल चढ्न प्रोमोट गरिनुपर्छ भन्ने पक्षमा म गइसकें । आधा किलोमिटर जानुपर्नेछ मोटरसाइकल किन चलाउने ? तपाईं १५ मिनेट हिँडेर पुग्नुस् न त्यहाँ । त्यसले तपाईंको बस्ने इन्भाइरोमेन्टलाई स्वच्छता देला, तपाईंको आफ्नो हिँडाइले स्वास्थ्य प्रवर्द्धन होला । अहिले धुवाधुँलो फाल्ने गाडी चढ्ने प्रवृत्ति बढ्दै गएको छ । तर, हाम्रो रोडको अथवा सहरको क्षेत्रफल त तन्किँदैन ।

No description available.


काठमाडौं भ्याली तन्किाएर ठूलो बनाउन त मिल्दैन । क्षेत्रफल उही छ तर सवारीसाधन बढ्दै गएका छन् । अबको ५ वा १० वर्ष पछि सडक जामको हालत के होला त ? हामीले अहिलेदेखि नै कमसेकम चाहिएका बेलामा मात्रै गाडी चढौं तर मिनिमम ठाउँहरूमा त हिँडेर वा साइकल चढेर जाने बानी बसालौं न । त्यसले गर्दा तपाईंको स्वास्थ्य पनि राम्रो हुन्छ र भोलि तपाईंको सन्ततिका लागि पनि राम्रो हुन्छ । अहिलेको वातावरण तातिएर भएका समस्याहरूलाई पनि मिनिमाइज गर्न मद्दत गर्छ ।

धुँवा नफाल्ने भेइकलहरू पनि आउन थालेको छ । यस्तो गर्न सक्यो भने कमसेकम वातावरणलाई जोगाउने हो भने त वातावरणले तपाईंका सन्तानलाई पनि त जोगाउँछ भन्ने लजिक पनि हो मेरो । मैले साइकल चढेरै ललितपुरका अलमोस्ट सबै ठाउँ जान भ्याइसकेको छु । काठमाडौंतिर पनि कुदाइसकेको छु । कहिले-काहीं रिफ्रेसमेन्ट साइकिलिङको कुराहरू पनि छ ।

कहिलेकाहीं शनिबारको दिन साथीहरूसँग साइकलमै चाँगुनारायण पुग्ने, स्वयम्भू पुग्ने, कहिलेकाहीं अन्य डाँडातिर जाने गरिन्छ । कहिलेकाहीं एक्लै पनि ३/४ घण्टा साइकल चलाएर आयो भने रमाइलो नै लाग्ने गर्छ । विगत १०/११ वर्षदेखि साइकल चढिरहेको छु । साइकल चढेरै हाम्रो बालापन पनि हुर्केको हो । अहिले पो गाडी, मोटरसाइकल चढ्ने प्रतिस्पर्धा बढ्यो । नत्र पहिला त सबै साइकलै चढ्थे । म लगभग साइकल चढ्दा ठूलो बाटो प्रयोग गर्दिनँ । सानो बाटोतिर गाडीहरूको स्पिड पनि कम हुन्छ ।

No description available.

अनि सुरक्षित पुन: हुन्छ । तर, रिङरोडतिर साइकल चढ्नलाई बाटो सुरक्षित छैन । रिङरोडतिर गाडी अनि मोटरसाइकल चढ्नेहरूले सिटी एरियामा मैले कति स्पिडमा चलाउनुपर्छ भन्ने सोच्दैनन् । ट्राफिक रुल उनीहरूलाई थाहा छैन ।

उनीहरूलाई त गाडी र मोटरसाइकल मात्रै थाहा छ । सिटी एरियामा कति स्पिडमा चलाउने, ट्राफिक लाइटहरू कहाँबाट चलाउने, के चलाउने, पैदलयात्रीलाई मैले बाटो दिनुपर्छ, साइकिल यात्रीलाई बाटो दिनुपर्छ यो कन्सेप्ट नै हुँदैन । गाडी चलाउने धेरैलाई गाडी चलाउन आउँछ तर, ट्राफिक नियमको ख्याल गर्दैनन् ।

त्यसैले पनि सानो अनि भित्री बाटोतिर गाडीहरूको स्पिड कम हुन्छ अनि सेफ फिल हुन्छ । सेफ फिल गराउनका निम्ति नीति-नियम बनाउनेहरूले साइकलमैत्री सडकहरू बनाउनुपर्‍यो । साइकल मात्रै होइन, जस्तो ह्‌विल चेयर पनि होला । सडकमा पैदलयात्रीहरू पनि हुन्छन् । उनीहरूका लागि बाटो खै ? यहाँ त सडक गाडी चढ्नका लागि मात्रै बनाइएको छ ।

मानिसलाई स्वास्थ्य प्रवर्द्धनका हिसाबले, साइकल चढ भन्ने हिसाबले सुरक्षित बाटो बनाउनुपर्‍यो । साइकललाई दिन सकिन्छ भने डेडिकेटेड लेन देऊ । सेयर लेन देऊ । सेयर लेनमा साइकल चढ्दा उसलाई सुरक्षा देऊ । मैले देखेको अर्को समस्या भनेको साइकल लिएर राख्ने कहाँ ? चोरी हुन्छ । धेरैले साइकल चोरी भयो भनेर उजुरी हालेका छन् । साइकल पार्किङ ललितपुर महानगरपालिकाले बनाएको छ । तर, त्यहाँ कभरेज गरिदेओस् । साइकल चोरी भयो भने पाइँदो रहेछ भन्ने एउटा फिलिङ होस् । त्यसैले साइकल मात्रै होइन, पैदल यात्री, ह्‌विल चेयरमैत्री बाटो हुनुपर्‍यो । उनीहरूले चढ्ने साधनको सुरक्षा पनि होस् । साइकललाई प्रोमोट गर्नका लागि ठाउँठाउँमा साइकल पार्किङ बनाउनुपर्‍यो । यो सबै नीति-निर्माताहरूले सोचिदिने कुराहरू हुन् ।

No description available.
सबै तस्बिर डा. पवन शर्माका फेसबुकबाट साभार गरिएका हुन् ।

लामो समयपछि वातावरणका लागि फाइदा, स्वास्थ्यका हिसाबले फाइदा हुन्छ है भन्नेतर्फ मानिसहरूमा जनचेतना अभिवृद्धि गर्दै साइकल चढ्न प्रोत्साहित गर्नुपर्‍यो । यस्तै नीति-नियम पनि सहज हुनुपर्ने अहिलेको आवश्यकता देखिन्छ ।
(स्त्रीरोग विशेषज्ञ डा. पवन शर्मासँग नेपालखोजका लागि मीना साउँदले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया