सोमबार, वैशाख २९, २०८२

प्राधिकरणको नाफा ३ अर्ब, ५१ लाख ग्राहकमा पुग्यो बिजुली

नेपालखोज २०७८ भदौ १ गते १६:४८

काठमाडौं । उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् ।

अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७÷७८ मा ७।३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा वृद्धि भएको हो । यस्तै, सामुदायिक संस्थातर्फ पाँच लाख ५० हजार पुगेका छन् ।

यस आधारमा देशभर विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्या ५० लाख ८० हजार पुगेको छ । प्राधिकरणको ३६औं वार्षिकोत्सवको अवसरमा दिइएको विवरण अनुसार देशका ७४ जिल्लामा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ ।

कर्णाली प्रदेशको कालीकोट र जुम्लामा आव २०७७/७८ मा मात्रै केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको हो । सो प्रदेशको डोल्पा, मुगु र हुम्लामा आगामी दुई वर्षभित्र प्रसारण प्रणाली पु¥याउने योजनामा प्राधिकरण रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हालसम्म देशको ९० प्रतिशत जनसङ्ख्यामा आधारभूतरूपमा ग्रीडको पहुँचसहितको विद्युत् पुगेको छ । बिजुली पु¥याएर मात्रै नहुने भन्दै उहाँले अब विश्वसनीय र प्रभावकारी बिजुली उपलब्ध गराउने चुनौती प्राधिकरणको सामु रहेको बताए ।

कोरोना कहरका कारण चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकिएको प्राधिकरणले स्वीकार गरेको छ । एक प्रतिशत चुहावट बढ्दा झन्डै ७० करोड बराबरको नोक्सानी हुने देखिन्छ । आव २०७७/७८मा झन्डै दुई प्रतिशत बराबरको चुहावट बढेको छ । यस आधारमा कूल एक अर्ब ४० करोड रूपैयाँ बराबरको नोक्सानी भएको छ ।

आव २०७७/७८ मा विद्युत् चुहावट १७.१८ प्रतिशत थियो । जुन आव २०७६÷७७ को तुलनामा १.९१ प्रतिशतले बढी हो । विद्युत् खपतमा भएको वृद्घि, कोभिड-१९ का कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रुपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ हुननसकेका कारणले चुहावटमा वृद्घि हुन गएको प्राधिकरणको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रणलाई प्रभावकारी रुपमा अगाडि बढाउने योजनामा आफूहरु रहेको जानकारी दिए ।

आव २०७७/७८ मा साना विद्युत् गृहसहित प्राधिकरणका जलविद्युत् गृहबाट कूल दुई अर्ब ८१ करोड युनिट बिजुली उत्पादन भयो । आव २०७६/७७ मा उत्पादन कूल तीन अर्ब दुई करोड युनिट उत्पादन भएको थियो । आव २०७६/७७ मा निजी क्षेत्रका विद्युत् गृहबाट दुई अर्ब ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गत आव मा ८.३६ प्रतिशतले बढ्न गई तीन अर्ब २४ करोड युनिट प्राप्त भएको थियो ।

यस्तै, आव २०७६/७७ मा भारतबाट एक अर्ब ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेकाले गत आवमा ६३.४५ प्रतिशत बढी अर्थात् दुई अर्ब ८२ करोड युनिट विद्युत् खरिद गरिएको प्राधिकरणले जनाएको छ ।

गत आवमा प्रणालीमा ८ अर्ब ८७ करोड ७९ लाख ५० हजार युनिट घन्टा विद्युत् उपलब्ध भएको तथ्याङ्क थियो । जुन, आव २०७६/७७ मा ७ अर्ब ७४ करोड १० लाख युनिटको तुलनामा १४।६८ प्रतिशत बढी होे ।

कूल उपलब्ध ऊर्जामध्ये प्राधिकरणका विद्युतगृहको योगदान ३१।६६ प्रतिशत छ भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युत्को योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत छ ।

आव २०७७/७८ मा कुल विद्युत् खपत ७ अर्ब ३१ करोड ९० लाख युनिट रहेको छ । जुन आव २०७६/७७ को ६ अर्ब ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढी हो ।

७१ अर्ब आम्दानी, ६८ अर्ब खर्च

प्राधिकरणले आव २०७७/७८ मा बिजुली बिक्री गरेर रु ७१ अर्ब २८ करोड आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा सो आवमा बिजुली बिक्रीको आम्दानी घटेको देखिन्छ । आव २०७६÷७७ मा कूल रु ७६ अर्ब ३१ करोड बराबरको बिजुली बिक्रीबाट आम्दानी भएको थियो ।

यस्तै, सञ्चालन खर्चमा समेत १०.९६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा रु ६१ अर्ब ८७ करोड बराबरको सञ्चालन खर्च भएकामा आव २०७७/७८ मा रु ६८ अर्ब ४५ करोड पुगेको छ ।

नाफा घट्यो

प्राधिकरणले पछिल्लो एक वर्ष विशेष ध्यान दिन नसक्दा सञ्चालन मुनाफा घटेको छ । आव २०७६/७७ मा रु ११ अर्ब ६८ करोड नाफा गरेको प्राधिकरणले आव २०७७/७८ मा मात्रै तीन अर्ब ५१ करोड मात्रै भएको छ ।

लगातार नाफामा गएको प्राधिकरणले पछिल्लो एक वर्षमा प्रभावकारी काम गर्न नसक्दा मुनाफामा कमी आएको भन्दै आलोचना भएको छ ।

कार्यकारी निर्देशक घिसिङले संस्थागत सुशासन कामय गर्ने, चुहावट नियन्त्रण तथा अन्य सुधारात्मक काम अगाडि बढाएर चालु आवमा प्राधिकरणको नाफामा उल्लेख्य वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जामन्त्री पम्फा भुसालले तत्कालीन ऊर्जामन्त्री पोष्टबहादुर बोगटीको कार्यकालमा प्राधिकरणको २८ अर्ब सञ्चित घाटालाई अपलेखन गरेर सुधारको काम सुरू भएको स्मरण गरे । उनले आफ्ना पूर्ववर्ती मन्त्रीले प्राधिकरणको सुधारका लागि उल्लेख्य रुपमा काम गरेको बताए ।

अबको दुई वर्षमा पूर्ण रुपमा विद्युतीकरण गर्ने योजना कार्यान्वयन गर्न उनले प्राधिकरणलाई योजनावद्ध रुपमा लाग्न निर्देशन दिए । उनले विभिन्न चरणको छलफलपछि आफूले २० युनिट बिजुली निःशुल्क दिने निर्णय गरेको स्पष्ट पारे ।

प्राधिकरणको नेतृत्वमा प्रदेश नं २ बाहेकमा जलाशयुक्त आयोजना निर्माण गर्ने योजनामा आफूहरु लागिपरेको मन्त्री भुसालको भनाइ छ ।

अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई अगाडि बढाउने योजनाका साथ सरकार लागिपरेको उल्लेख गरे । ढल्केबर-मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा रहेको छ । यस्तै, न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई तत्काल अगाडि बढाउने योजना उनले सुनाए ।

देशभित्र निर्माण भइरहेका प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि मन्त्रालयले पहल सुरू गरिसकेको जानकारी दिँदै उनले बिजुली खेर जाने अवस्थाको अन्त्य गरिने विश्वास दिलाए । उनले प्राधिकरणमा सुशासन र पारदर्शीतामा कुनै सम्झौता नगरिने भन्दै ‘राइट म्यान, राइट प्लेस,’ को अवधारणाअनुसार प्राधिकरणको नेतृत्व परिवर्तन गरेको बताए ।

मन्त्री भुसालले कर्मचारीको सरुवामा हुने लेनदेन वा भनसुन देखिए त्यो आफूलाई सह्य नहुने भन्दै सोहीअनुसार गर्न कार्यकारी निर्देशक घिसिङलाई निर्देशन दिए । उनले संस्थागत सुशासन र प्रभावकारी कार्य सञ्चालन गरी राष्ट्रिय आकांक्षा पूरा गर्न प्राधिकरणको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा ऊर्जा सचिव देवेन्द्र कार्कीले प्राधिकरणको बढ्दो साखलाई थप विस्तार गरेर सबल र सक्षम संस्थाको रुपमा विकास गर्न मन्त्रालयको तर्फबाट सदा सर्वदा सहयोग रहने बताए ।

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल९इपान०का अध्यक्ष कृष्णप्रसाद आचार्य, सामुदायिक विद्युत् उपभोक्ता महासङ्घका अध्यक्ष नारायण ज्ञवालीलगायतले प्राधिकरणको थप सफलताको कामना गरे ।

प्रतिक्रिया