नेपालले भन्यो- अफगानिस्तानमा शान्तिसँगै मानव जीवन र सम्पत्तिको रक्षा होस्

काठमाडौं । नेपाल सरकारले अफगानिस्तानमा मानव जीवन र सम्पत्तिको रक्षा, शान्ति र स्थिरता कायम गर्न सरोकारवाला पक्षालाई अपिल गरेको छ । अफगानिस्तानमा विकास भएको पछिल्लो घटनालाई नजिकबाट नियाली रहेको भन्दै नेपाल सरकारले तत्काल शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न पनि आग्रह गरेको छ ।
सार्क अध्यक्षसमेत रहेको नेपालले सार्कको कान्छो सदस्य मुलुकमा भएको यो घटनालाई गम्भीर रुपमा लिँदै घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको हो ।
‘सरोकारवाला सबैलाई सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गर्दछौं,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेपालले अफगानिस्तान छाड्न चाहनेहरुलाई सुरक्षित रुपमा सडक मार्ग, हवाईमार्ग र सीमापार गर्न दिन पनि आग्रह गरेको छ ।
सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको जनाएको छ ।


प्रतिक्रिया