सरकार-डा. केसीबीच ४ बुँदे सहमति, अनशन स्थगित (यस्ता छन् सहमतिका बुँदा)

नेपालखोज २०७८ भदौ १ गते २२:१६

काठमाडौं । सरकारले डा. गोविन्द केसीसँग चारबुँदे सहमति गरेको छ । सहमतिसँगै डा. केसीले घोषणा गरेको अनशन पनि स्थगित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (मंगलबार) डा. केसीले उठाएका माग सम्बोधन गर्ने भन्दै चारबुँदे सहमति भएपछि अनशन स्थगित भएको हो । डा. केसीले विभिन्न पाँचबुँदे माग राख्दै भदौ ३ गतेबाट अनशन बस्ने घोषणा गरेका थिए । प्रधानमन्त्री देउवाले आज डा. केसीलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

डा. केसी अधिवक्ता ओमप्रकाश अर्याल, डा. जीवन क्षेत्री र आफ्ना सहयोगी प्रितम सुवेदीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उक्त छलफलमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की तथा डा. अन्जनीकुमार झा पनि सहभागी थिए ।

सरकार र डा. केसीबीच भएका चारबुँदे सहमति यस्ता

१. सार्वजनिक पदहरूमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने । स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने ।

२. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्ने तथा वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने ।

३. पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरूको प्रतिवेदनलाई कानुनी रूप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अघि बढाउने।

४. प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल पुर्‍याउनका लागि निर्माण कार्यलाई तीव्रता दिने । चिकित्सा शिक्षामा संशोधनलगायत बाँकी मागहरू तथा यसअगाडि नेपाल सरकारले हामीसँग गरेका सबै सम्झौता कार्यान्वयन गर्ने ।

प्रतिक्रिया