विकास बैंकद्वारा आफ्नो सहायक कम्पनीमार्फत धितोपत्र व्यवसाय गर्न अनुमतिकाे माग

काठमाडौं । विकास बैंकहरुले आफ्नो सहायक कम्पनीमार्फत धितोपत्र व्यवसाय गर्न अनुमति दिन माग गरेका छन् । विकास बैंकहरुको छाता संठगन डेभलपमेन्ट बैंकर एसोसिएसन नेपालले विज्ञप्ती जारी गर्दे धितोपत्र बोर्डसमक्ष धितोपत्र व्यवसाय गर्न अनुमति दिन माग गरेका हुुन् ।
एशोसिएसनद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ‘प्रचलित कानुनबमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्पmत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकि दिन सक्नेछ’ भन्ने र सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृतिलिइ नेपाल धितोपत्र वोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुँदामा प्रचलित कानुन बमोजिम स्थापना भएको ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ भन्ने व्यवस्था अनुसार विकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीहरु मार्फत धितोपत्र व्यवसाय गर्ने अनुमती प्रदान गरिदिनका लागि नेपाल धितोपत्र वोर्डलाई पत्र लेखेका छन् ।
विकास बैंकहरुले कम्पनी ऐन २०६३ अनुसार स्थापना भइ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख वर्गको इजाजतप्राप्त लिइ बैंकिङ सेवा प्रदान गर्दछन् ।
राष्ट्रियस्तरका विकास बैंकहरुको औंषत चुक्ता पुँजी तीन अर्ब ४० करोड रुपैंयाँ नाघि सकेको छ । त्यस्तैगरी विकास बैंकहरुले एक हजार बढी शाखाबाट करिब ४१ लाख खातावालाहरुलाई बैंकिङ सेवा प्रदान गर्दै तीन लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेका छन् ।
त्यस्तै गरी, २०७८ असार मसान्तसम्ममा चार खर्ब ४५ अर्ब रुपैंयाँ निक्षेप परिचालन गरी तीन खर्ब ८३ अर्व रुपैंयाँ कर्जा प्रवाह गरेका छन्, यो अवस्थमा बिकास बैंकहरुलाई पनि धितोपत्र व्यवसाय गर्न अनुुमति दिनुुपर्छ, विकास बैंकहरुले भनेका छन् ।


प्रतिक्रिया