बिहीबार, वैशाख १३, २०८१

विषको असर भान्सामा !

कालीमाटीमा प्रयोगशाला स्थापना भएपछिको परीक्षणमा भारतीय तरकारीमा ८३ प्रतिशतसम्म विषादीको अवशेष भेटिएको छ ।

नेपालखोज २०७८ भदौ ३ गते १०:२१

तरकारी र फलफूल ताजा बनाउन धेरै मिहिनेत गर्नु पर्दैन । एउटा आरीमा वा थालमा पानी राखेर तरकारी र फलफूलको परिमाण हेरी एक–दुई थोपा केमिकल हाले पुग्छ ।

काठमाडौं । हरियो तरकारी खाँदा स्वास्थ्य राम्रो हुने चिकित्सकहरू बताउँछन् । बालबालिका, वृद्धवृद्धाले पनि हरियो तरकारीमा जोड दिनुपर्छ भन्ने छ । तर केमिकल तथा विषादी प्रयोग गरिँदा अर्ग्यानिक खाद्यवस्तु खाने सपना कसैको पनि पूरा हुन सकेको छैन । हामी पसलमा ताजा–हरियो तरकारी र फलफूल किन्छौं तर अर्ग्यानिक नहुने धेरै उदाहरणहरूले देखाएको छ ।

भारतका धेरै खेतबारी र तरकारी बजारमा हरियो र ताजा तरकारी तथा फलफूल बनाउन एक केमिकलको प्रयोग हुने गरेको छ । यस केमिकलको नाम हो प्लान्ट ग्रोथ रेगुलेटर । उक्त केमिकल छर्किएको केही मिनेटेमै ओइलिएको वा खराब तरकारी र फलफूल बारीबाट टिपेर ल्याएझैं ताजा देखिन्छ । तरकारीको कारोबार गर्नेहरू तिनै हुन् जो उपभोक्ताको अघिपछि नै हुन्छन् । नेपालमा पनि तरकारीको ठूलो कारोबार गर्नेहरूले भारतबाट केमिकल ल्याएर ओइलिएको तरकारीलाई ताजा बनाइरहेका हुन्छन् । यतिसम्मकी भारतबाट दैनिक हजारौं क्विन्टल विषादीयुक्त तरकारी नेपाल आयात हुने गरेको छ । तर जाँचबिनै आयात गरिएको उक्त तरकारी तथा फलफूल खान हामी बाध्य छौं ।

धेरै तरकारी आयात गर्ने भारतकै किसानहरू बेलाबेला छानबिनमा पर्ने गरेका छन् । भारतका धेरैजसो ठाउँका फलफूल र तरकारी उत्पादन गर्ने किसान र व्यापारीले नसड्ने खालको केमिकल प्रयोग गर्ने गरेका छन् । ताजाजस्तै देखिने फलफूल र तरकारी नेपाली उपभोक्ताले पनि प्रयोग गरिरहेका छन् । जुन मानव स्वास्थ्यका लागि धेरै घातक छ ।

तरकारी र फलफूल ताजा बनाउन धेरै मिहिनेत गर्नु पर्दैन । एउटा आरीमा वा थालमा पानी राखेर तरकारी र फलफूलको परिमाण हेरी एक–दुई थोपा केमिकल हाले पुग्छ । उक्त केमिकल मिसाइएको पानीमा चोबेको केही मिनेटभित्रै तरकारी र फलफूल ताजा देखिने हुन्छ । हामी पनि बजारपसलमा चिल्लो राम्रो,ताजा फलफूल र तरकारी देखेर लोभिने गरेका छौं ।

भारतीय कानुनअनुसार खाद्य पदार्थमा मिसावट भए १० लाखसम्मको जरिवाना र जेल सजाय छ ।

भारतको केन्द्रीय विभागले यस्ता केमिकलको प्रयोगमा रोक लगाउने भने पनि सम्भव भएको छैन । भारतीय सञ्चारमाध्यमका अनुसार तरकारी तथा फलफूलमा विषादी प्रयोग गर्नेहरू एकदमै कम कारबाहीमा परेका छन् । भारतले कारबाही नीति प्रभावकारी नबनाउँदा विषादी मिसाइएको तरकारी तथा फलफूल खानुपर्ने बाध्यता नेपाललगायत श्रीलंका, भुटान, म्यानमार, बंगलादेश र अन्य मुलुकलाई पनि छ ।

प्लान्ट ग्रोथ रेगुलेटर नामको केमिकल सागसब्जीको बिरुवा छिटो बढाउनका लागि छर्किने गरिन्छ । एक लिटर पानीमा आधा मिलिमिटर केमिकल मिलाएर अन्नबाली, सागसब्जी फलफूलमा छर्किने गरिन्छ । केमिकल छर्किएपछि तरकारी तथा फलफूलको बिरुवा चाँडै बढ्छ र वजन पनि बढी हुने गर्छ । भारतमा धेरै परिमाणमा विभिन्न किसिमका फलफूल उत्पादन हुने गरेको छ । त्यो फलफूलका बोट चाँडै बढाउन र टिपिसकेपछि पनि चिल्लो राम्रो बनाई राख्न विषादी प्रयोग गर्ने गरिन्छ ।

भारतमा मिसावटयुक्त खाद्य सामग्री बेच्नेलाई कानुनी रूपमा कडा कारबाही गर्ने व्यवस्था छ । तर यो कागजमै सीमित रहेको भारतीय सञ्चारमाध्यम तथा उपभोक्तावादीहरूले उल्लेख गरेका छन् । भारतीय कानुनअनुसार खाद्य पदार्थमा मिसावट भए १० लाखसम्मको जरिवाना र जेल सजाय छ । व्यवहारिक रूपमा कानुनी सजाय कम हुँदा त्यहाँको कानुन कार्यान्वयन गर्ने व्यक्ति र सरकारको क्षमतामाथि प्रश्न उठेको छ । भारतीय कानुनमा मिसावट खानपिनका कारण कोही बिरामी परे वा मृत्यु भए एक करोड पाँच लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने व्यवस्था पनि छ ।

यता नेपाली बजारमा उपलब्ध फलफूल र तरकारीमध्ये भारतबाट आयात हुने तरकारीमा विषादीको अवशेष बढी देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले बेलाबेला गर्ने प्रयोगशाला परीक्षणमा भारतीय तरकारीमा विषादीको अवशेष बढी भेटिएको हो ।

कालीमाटीमा प्रयोगशाला स्थापना भएपछिको परीक्षणमा भारतीय तरकारीमा ८३ प्रतिशतसम्म विषादीको अवशेष फेला परेको छ । नेपाल सरकारले ३५ प्रतिशतसम्मको अवशेषलाई मात्र मापदण्डभित्रको मान्यता दिएको छ ।

पीजीआर नामको केमिकल प्रयोग गरेर उत्पादन गरी चिल्लो तथा ताजा बनाइएको फलफूल र तरकारी उपभोग गर्दा स्वास्थ्यमा हुने बेफाइदा धेरै छन् । केमिकलयुक्त खाद्य सामग्रीको प्रयोगले कलेजोलाई बढी खराब गर्ने चिकित्सकहरू दाबी गर्छन् । यस्तै मिर्गौलामा र हर्मोनमा पनि असर गर्ने हुन्छ । केमिकल प्रयोग गरेर उत्पादन गरिएको तरकारी र फलफूलको अर्को असर स्नायू प्रणाली हुने गरेको छ ।

प्रतिक्रिया