भुटानमा ३ र भारतमा ४ लाख ३३ हजारको मृत्यु
कोरोना नियन्त्रणमा सफल मानिएको भुटानमा अझै ४१ जना सक्रिय संक्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं । दक्षिण एसियाली मुलुक भुटानमा हालसम्म तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यहाँ दुई हजार पाँच सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । दुई हजार पाँच सय ३३ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना नियन्त्रणमा सफल मानिएको भुटानमा अझै ४१ जना सक्रिय संक्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लगभग सबै योग्य जनसंख्यालाई खोप लगाएको भुटानमा ७ लाख ८१ हजार जनसंख्या छ । भुटानमा वयस्कको संख्या ५ लाख ३० हजार रहेको अनुमान छ ।
दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा बढी प्रभावित भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख ३३ हजार नाघेको छ । बिहीबारसम्म त्यहाँ तीन करोड २३ लाख २० हजार जनामा संक्रमण पुष्टि भएको छ । मृत्युदर अनुसार संसारकै तेस्रो स्थानमा रहेको भारतमा तीन करोड १५ लाख १६ हजारजनाले संक्रमण जितेका छन् । कोरोनाबाट सिकिस्त बिरामी परेका आठ हजार नौ सयभन्दा बढीको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
हालै मात्र विद्रोही समूह तालिवानले सत्ता कब्जामा लिएको अफगानिस्तानमा हालसम्म सात हजार बढी कोभिड संक्रमितको मृत्यु भएको छ ।
दक्षिण एसियाली मुलुकमा कोरोनाबाट प्रभावितमध्ये दोस्रो स्थानमा रहेको बंगलादेशमा २४ हजार सात सयभन्दा बढी कोरोना संक्रमितले ज्यान गुमाएका छन् । १६ करोड ६५ लाख जनसंख्या रहेको बंगलादेशमा हालसम्म १४ लाख ४० हजार जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ अझै १४ भन्दा बढी कोरोना संक्रमितको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
त्यस्तै, पाकिस्तानमा बिहीबारसम्म २४ हजार ६ सय कोरोना संक्रमितको मृत्यु भएको छ । २२ करोड ५७ लाख जनसंख्या रहेको त्यहाँ हालसम्म ११ लाख नौ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । नौ लाख ९६ हजार जनाले कोरोनालाई जित्दा सक्रिय संक्रमितको संख्या ८८ हजार दुई सय छ । अझै ४ हजार ८ सय बढी कोरोना संक्रमितको अवस्था चिन्ताजनक रहेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दक्षिण एसियाली मुलुक नेपालमा १० हजार ३९६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म करिब सात लाख ४० हजार जनामा संक्रमण पुष्टि हुँदा ६ लाख ८९ हजार १७३ जना संक्रमणमुक्त भएका छन् । देशभर अझै ४० हजार तीन सयभन्दा बढी सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालै मात्र विद्रोही समूह तालिवानले सत्ता कब्जामा लिएको अफगानिस्तानमा हालसम्म सात हजार बढी कोभिड संक्रमितको मृत्यु भएको छ । करिब चार करोड जनसंख्या रहेको अफगानिस्तानमा एक लाख ५२ हजार जनामा संक्रमण देखिएको छ ।
त्यस्तै दक्षिण एसियाली मुलुक श्रीलंकामा हालसम्म ६ हजार ६ सय बढी कोरोना संक्रमितको मृत्यु भएको छ । त्यहाँ तीन लाख ६९ हजार जनामा संक्रमण पुष्टि हुँदा ३ लाख १६ हजार पाँच सय बढीले कोरोना जितेका छन् ।
यस्तै माल्दिभ्समा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २२२ पुगेको छ । करिब साढे पाँच लाख जनसंख्या रहेको त्यहाँ ७९ हजार जनामा संक्रमण देखिएको हो । त्यहाँ अझै एक हजार ६ सयभन्दा बढी सक्रिय संक्रमित रहँदा १८ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ ।

प्रतिक्रिया