पार्टी दर्ताका लागि आयोग पुग्यो जसपा (लोकतान्त्रिक)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामक नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
सरकारले मंगलबार ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि महन्थ ठाकुर पक्ष नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको हो ।
ठाकुर पक्षको जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामक दल ४३४ नम्बरमा दर्ता भएको छ । महन्थ ठाकुर अध्यक्ष रहेको सो पार्टीको वरिष्ठ नेता राजेन्द्र महतोलाई बनाइएको छ ।
जसपा (लोकतान्त्रिक) पार्टीले २४ जनाको कार्यकारिणी समिति बनाएर जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) पार्टी दर्ता गराएको पार्टीका वरिष्ठ नेता महतोले बताए ।
उनले अब चाँडै निर्वाचन आयोगले पार्टीको प्रमाणपत्र दिने जानकारी दिए । उनले भने, ‘जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामक दर्ता गराइएको छ, विधि, प्रक्रिया पूरा गरेर निर्वाचन आयोगले हामीलाई प्रमाणपत्र दिन्छ ।’ वरिष्ठ नेता महतोले पार्टीमा प्रतिनिधि र राष्ट्रियसभाका गरी १५ सांसद रहेको र पार्टीको चुनाव चिह्न साइकल राखेको बताए ।

प्रतिक्रिया