यस्तो छ देशभरको मौसमी विवरण !

नेपालखोज २०७८ भदौ ५ गते ७:२२

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव सामान्य रहेको जनाएको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज (शनिबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, सुदूरपश्चिम र लुम्बिनी र वाग्मती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । राति भने देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र वाग्मती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी महाशाखाका अनुसार भोलि (आइतबार) दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति भने देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

यस्तै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । यसकारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया