बुधबार, जेठ १, २०८२

पोखरा फुटबल रंगशालामा ‘फ्लड लाइट’ राखिने

नेपालखोज २०७८ भदौ ५ गते ९:४५

कास्की । पोखरा फुटबल रंगशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रंगशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष पाँच करोड रूपैयाँ बजेट विनियोजन गरेर काम सुरु गर्ने भएको हो ।

रंगशालाको काम तीन वर्षअघिदेखि सुरु भएकामा हाल अन्तिम चरणमा पुगेको छ । एक अर्ब २८ करोड रूपैयाँ लागतमा निर्माण सुरु भइरहेको रंगशालामा सुरुआतमा ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’ राख्ने योजना थिएन ।

अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिताका लागि रंगशालामा लाइट अनिवार्य छ । पोखराका खेलकर्मीले सुविधासम्पन्न फुटबल रंगशालामा बत्ती राख्ने व्यवस्था गर्न पटक पटक राखेपको ध्यानाकर्षण गराएका थिए ।

क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण नाथ योगीले पाँच करोड रूपैयाँ बजेट विनियोजन भएकाले यसै वर्ष बोलपत्र आह्वान भएर ‘फ्लड लाइट’ जडानको काम सुरु हुने बताए ।

रंगशालाको चारै कुनामा बत्ती राखिने छ । जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङले ‘फ्लड लाइट’ जडानसँगै पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका लागि ढोका खुल्ने बताए ।

साँझ तथा रातिका खेलका लागि बत्ती अनिवार्य रहेको र सो नहुँदासम्म फिफाले स्वीकृति प्रदान नगर्ने भएकाले दु्रतगतिमा काम हुनुपर्ने उहाँ बताउए ।

यसैगरी अति विशिष्ट कक्षको प्यारापिटमा छानो छाउने काम सकिएको निर्माण कम्पनी भारतीय ग्रेट स्पोर्टस् एण्ड एमएम कन्स्ट्रक्सनका इञ्जिनियर पुरुषोत्तम बरालले बताए ।

रंगशालामा अहिले खेलाडी बस्ने कक्ष (प्लेयर बक्स),चेञ्जिङ रुम र प्रि इञ्जिनियरिङ भवनको फिनिसिङ तथा रङरोगनको काम भइरहेको छ । इञ्जिनियर बरालले भने, ‘आगामी अक्टोबरभित्रमा फुटबल रङ्गशालाको सम्झौताअनुसारको सबै काम सम्पन्न गरेर हस्तान्तरणको तयारीमा छौँ ।’

पोखरामा चार दशकअघि निर्माण गरिएको फुटबल रंगशालाकाे प्यारापिट विसं २०७२ को भूकम्पले क्षति पुगेपछि नयाँ निर्माण सुरु गरिएको थियो ।

प्रतिक्रिया