मंगलबार, वैशाख २५, २०८१

२ सय वर्ष पुरानो राधाकृष्ण मन्दिरको पुनर्निर्माण

नेपालखोज २०७८ भदौ ५ गते १७:२९

भक्तपुर । भक्तपुरमा दुई सय वर्ष पुरानो राधाकृष्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका दधिकोटस्थित तर्खगालमा रहेको मन्दिरको पुनर्निर्माण भएको हो ।

पुनर्निर्माण प्राधिकरणको रु ४८ लाख ६२ हजार एक सय ७० को लागतमा पुरातत्व विभाग तथा दरबार हेरचाह कार्यालय भक्तपुरले पुनर्निर्माण सम्पन्न गरेको उक्त मन्दिरको आज (शनीबार) भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरेका हुन् ।

मन्दिरको उद्घाटन कार्यक्रममा उनले सूर्यविनायक नगरपालिका क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहँदा यस्तो ऐतिहासिक एवं पुर्खा देखिको सम्पदाले पुनर्जीवन पाउँदा पर्यटकलाई थप आकर्षित पार्ने उल्लेख गरे । उनले भक्तपुरमा महाभूकम्पले ढालेका र जीर्ण बनाएका अधिकांश मठमन्दिर, सम्पदा र सत्तलहरू छिटो पुनर्निर्माण गर्न आफूले चालेको अभियान तथा पहलले सार्थकता पाएको समेत बताएका छन् ।

उनले भने, “भूकम्पले ढालेका अधिकांश मठमन्दिर, पाटी, सत्तल, विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक संस्थाका भवनहरुले पुनर्जीवन पाएका छन्, त्यसका लागि मैले सरकार र पुनर्निर्माण प्राधिकरणसँग गरेको पटकपटकको प्रयासले सार्थकता पाएको छ ।”

उनले सूर्यविनायक नगरपालिका क्षेत्र आफैंमा सुन्दर र पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएकाले सरकारले यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै यहाँको विकासले कोल्टे फेरेसँगै सबैको आकर्षण बनेको बताए । मन्दिरको पुनर्निर्माणमा स्थानीयबासीबाट रु आठ लाख ६५ हजार सङ्कलन गरिएको थियो ।

प्रतिक्रिया