दल दर्ता हुनेबित्तिकै सरकारमा जान्छौं : मेटमणि चौधरी

नेपालखोज २०७८ भदौ ५ गते १८:०८

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौंधरीले निर्वाचन आयोगमा दल दर्ता हुने वित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।

चौधरीले पाँच दिन भित्र माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरु पनि आफूहरुकै पार्टीमा आउने ठोकुवा गरे । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने,‘म भन्न चाहन्छु–पाँच दिन भित्र सबै जना उहाँहरु नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा फर्कनुहुन्छ । निर्वाचन आयोगले नौं गते सनाखतका लागि बोलाएको छ । त्यसपछि दल दर्ताको प्रमाण पत्र प्राप्त हुन्छ । हामी सरकारमा जाने ढोका खुल्छ ।’

नेता चौंधरीले नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरुले नयाँ पार्टी स्थापना गर्नु परेको स्पष्ट पारे । कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पार्टीमा फर्कन नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई आग्रह गरेका छन् । त्यसका लागि अध्यक्ष केपी शर्मा ओली १० बूँदे सहमती कार्यान्वयन गरेर अघि बढन तयार रहेको उनले बताए ।

सोही कार्यक्रममा बोल्दै नेता ठाकुर गैरेले पार्टी एकताका लागि १४ जना सांसदहरुमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन अध्यक्ष ओलीलाई आग्रह गरे । उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन फिर्ता लिन समेत आग्रह गरे ।

प्रतिक्रिया