पार्टी सभापतिको उम्मेद्‌वारीबाट पछि हट्दिनँ : सिंह

नेपालखोज २०७८ भदौ ५ गते १८:२३

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सभापतिको उम्मेद्‌वारबाट आफू पछि नहट्ने बताएका छन् ।

काठमाडौंको चन्द्रागिरि नगर समितिले शनिबार आयोजना गरेको एकदिने विचार गोष्ठीमा उनले आफू सम्पूर्ण रुपले पार्टी सभापति बन्न सक्षम रहेको दाबी गर्दै पछि नहट्ने बताएका हुन् । आमजनताको दु:खमा मलमपट्टी लगाउन आफू कांग्रेस सभापति बन्नुपर्ने बताए ।

‘आम जनताको दु:खमा मलमपट्टी लगाउनका लागि भए पनि म कांग्रेसको सभापति बन्नुपर्छ,’ नेता सिंहले भने, ‘सबैलाई मिलाउन सक्ने क्षमता छ । पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ । म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेद्‌वारीबाट पछि हट्दैनँ ।’

साथै नेता सिंहले १३औं महाधिवेशनपछि अहिले इतिहासकै कमजोर अवस्थामा पार्टी पुगेको पनि बताए । नेतृत्व गलत भएपछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गरेसरह हुने टिप्पणी गरे ।

यस्तै उनले कम्युनिस्टहरुले कांग्रेसलाई सहयोगी पार्टीका रुपमा प्रयोग गर्न खोजेको दाबी पनि गरे । नेता सिंहले जनता र देशलाई संकट पर्दा कांग्रेसले नै साथ दिने भन्दै जनताको पार्टी भएको दाबीसमेत गरे । साथै केही व्यक्तिहरुले आफ्नो स्वार्थका लागि क्रियाशील सदस्यता वितरणमा अनिमितता गर्दा वर्षौंदेखि पार्टीमा संघर्ष गरेका नेता कार्यकर्ता निराश भएको उनको भनाइ थियो । -तस्बिर : यूपी लामिछाने

प्रतिक्रिया