‘एमाले एकता चाहाने लाखौंको संख्यामा छन्’ : गैरे

नेपालखोज २०७८ भदौ ५ गते १९:०४

काठमाडौं । नेकपा (एमाले) का एकता पक्षधर नेता ठाकुर गैरेले आफूहरु एकताको लागि अझैपनि प्रयासरत रहेको बताएका छन् ।

राजधानीमा आज (शनिबार) आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले एकता सम्भव भएको भन्दै यसको लागि अध्यक्ष केपी शर्मा ओली र माधव नेपालले दुई—दुई वटा काम गर्नुपर्ने सुझाव दिए ।

उनले भने,‘एमाले एकताको लागि केपी ओलीले गर्नुपर्ने जम्मा दुई वटा काम छन्, पहिलो काम माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाही फिर्ता लिने र अर्को १० बुँदे सहमतिको अक्षरंश पालना गर्ने प्रत्याभूति आउनुपर्छ ।’

त्यस्तै उनले माधव नेपालले पनि दुई वटा काम गर्नुपर्ने बताए । नेता नेपालले पहिलो काम निर्वाचन आयोगमा दल दर्ताको लागि दिएको निवेदन फिर्ता लिने र अर्को पार्टी एकताको लागि तयार हुनुपर्नेमा जोड दिए । उनले आफूहरु एकता पक्षधर ५७ जनाको हिजो र आज बसेको बैठकले पनि यही निश्कर्ष निकालेको सुनाए ।

उनले भने,‘अहिले पनि एमालेमा एकता पक्षधरको बलियो जनमत छ । जनताले पनि यही चाहेका छन् । लाखौं जनता एकताको पक्षमा छन् । विभाजन गर्ने र यिनीहरु गएपनि केही फरक पर्दैन भन्नेहरु त औंलामा गनिने संख्या होला । तर, एमाले एकता चाहानेहरु भने लाखौंको संख्यामा छन् ।’राष्ट्रिय एकता, अखण्डता, सावैभौमिकताको रक्षा, संविधानको कार्यान्वयन लगायतको लागि पनि एमालेको एकता अनिवार्य भएको गैरेले बताए । एमालेमा विग्रह फागुन २८ गतेदेखि नै सुरु भएको उनको भनाई थियो ।

प्रतिक्रिया