माओवादी केन्द्रका नेताहरुको कार्यविभाजन भोलि

नेपालखोज २०७८ भदौ ५ गते २०:१९

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेताहरुको कार्यविभाजनको टुंगो आइतबार लाग्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलन तयारीलगायतका कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो ।

आईतबार बिहान ११ बजे बस्ने बैठकमा नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने र त्यो सम्मेलनलाई केन्द्रविन्दुमा राखेर सदस्यता नविकरण, वितरण देखि वडा अधिवेशन, प्रदेश अधिवेशनसम्मको अधिवेशन र सम्मेलनहरु तय गरेको सन्दर्भमा आजको बैठकमा छलफल भएको छ ।

निर्वाचन आयोगले निर्देशिका तयार गरेर तल पठाउने र त्यसका आधारमा सबै अधिवेशन र कमिटीहरु निर्माण हुने प्रवक्ता श्रेष्ठले स्पष्ट पारे । निर्वाचन निर्देशिका तल पठाउने बारेमा पनि आजको बैठकको एजेन्डा रहेपनि आइतबारको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए ।

प्रतिक्रिया