‘ओलीले बाटो नबिराएको भए कांग्रेस सत्तामा आउने थिएन’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेसको नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षाबमोजिम काम गर्ने दाबी गरेका छन् ।
ज्येष्ठ कांग्रेस सङ्घद्वारा शनिबार काठमाडौंमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले यो सरकार परमादेशबाट नभएर जनमतबाट निर्मित भएको जिकिर गरे । जनताले चाहेको सरकार भएकाले जनअपेक्षाबमोजिम नै काम गर्ने नेता महतले उल्लेख गरे ।
उनले अघिल्लो कम्युनिष्ट सरकारले बाटो नबिराएको भए, अहिले नै कांग्रेस सत्तामा आउने सम्भावना नरहेको बताए । चुनावका बेलामा जनतासँग गरेका वाचाअनुसार काम गरेको भए तथा देशमा सुशासन र कानुनीराजको सुनिश्चितता नगरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गुमाएको नेता महतको तर्क छ ।
कुनै पनि राजनीतिक दलले आफू सत्तामा पुगेपछि अब कहिल्यै तल ओर्लिन पर्दैन भन्नेजस्ता अहंकार पाल्ने गरेकाले समय समयमा नेपालको राजनीतिमा दुर्घटना हुने गरेको उनको भनाई छ ।
नागरिकले कम्युनिष्ट सरकारलाई पाँच वर्षका लागि दिएको जनादेश तीन वर्षमै दुर्घटनामा परेको उनले सुनाए । उनलेज्येष्ठ नागरिक देशका अनुभव र प्रेरणाका खानी भएकाले उनीहरुको सुझाव र दिशानिर्देशानुसार काम गर्दा देशको विकास हुने र समाज पनि समृद्ध बन्ने बताए ।

प्रतिक्रिया