बुधबार, वैशाख १९, २०८१

‘पर्व र संस्कृतिले समुदायलाई मजबुत बनाउँछ’

नेपालखोज २०७८ भदौ ६ गते ७:५९

कास्की । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले रक्षाबन्धन, ऋषितर्पणी एवं जनै पूर्णिमाका अवसरमा सम्पूर्ण प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन् । आज जारी शुभकामना सन्देशमा उनले हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वले सम्पूर्ण प्रदेशवासी सबै दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

विभिन्न समुदायले खुसीयाली स्वरुप उत्साह र उमंगसाथ मनाउने रक्षा बन्धनले मौलिक परम्परा र सांस्कृतिक महत्त्व बोकेको जनाउँदै प्रदेश प्रमुख गुरुङले यो पर्व तागाधारी समुदायले मात्रै नभई विभिन्न समुदायले मनाउने गरेको हुँदा यस पर्वको महत्त्व बढेको उल्लेख गरे ।

उनले नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले यस्ता पर्वले सामाजिक, सांस्कृतिक र जातीय एकता कायम गर्दै आपसी सद्‌भावलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै सन्देशमा भनेका छन्, ‘पर्व र संस्कृतिले समुदायबीच आपसी सद्‌भाव कायम राख्दै सांस्कृतिक, आर्थिक र सामाजिक रूपमा एकीकृत र मजबुत बनाउन सहयोग पुग्दछ ।’

विज्ञप्तिमा कोरोना महामारीले विश्व नै प्रभावित भइरहेका बेला सबैले चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्न र सबै नागरिकको इमानदार प्रयासले मात्र कोरोनालाई जित्न सकिने उल्लेख छ । -रासस

प्रतिक्रिया