गाईजात्रामा भिड नगर्न आग्रह

नेपालखोज २०७८ भदौ ६ गते १५:३१

काठमाडौं । सरकारले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगर्न आग्रह गरेको छ ।

शहरमा भिडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।

देशभरका जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन निर्देशन दिएको उनले बताए । अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्ने प्रवक्ता पोखरेलले स्पष्ट पारे ।

कोभिड–१९ को अवस्था हेरेर आवश्यकताअनुसार निषेधाज्ञा लागू गर्ने वा खुकुलो बनाउने अधिकार दिइएकाले सोहीअनुसार स्थानीय प्रशासन सक्रिय हुँदै आएको र चाडवाडका बेलामा पनि सोही प्रक्रिया अपनाइने मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पर्सी मंगलबार सकिँदैछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सङ्क्रमण बढिरहेकाले जनैपूर्णिमासँगै सोमबार हुने गाईजात्रा भिडभाड नगरी मनाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पालना गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया