मंगलबार, वैशाख २५, २०८१

राहु र त्यसको उपचार !

ओम आचार्य २०७८ भदौ ७ गते ७:५६

राहु प्रधान व्यक्तिहरु सदैव अतृप्त रहन्छन् । उनीहरुलाई कहिल्यै तृप्ति प्राप्त हुँदैन । उनीहरुको कार्य सदैव अपूर्ण रहन्छ । असफलताको सूचक नै राहु हो । यसले जीवन पर्यन्त एउट पीडा- घाउ छाडेर जान्छ । जीवन सधै द्वेषपूर्ण रहन्छ । राहु दशा भएकाहरुमा पर्याप्त द्वेष हुन्छ । राहु प्रधान व्यक्तिको जिब्रोले आफ्नो ओठ चाटिरहन्छन् वा जिब्रो बाहिर निकालिरन्छ सर्पको जस्तो । यिनले अरुका लागि विष निकाल्छन् ।

यस्ता मानिस शरीर भएर पनि क्रियाशक्तिका लागि सक्रिय नहुन सक्छन कारण राहुको शिर त छ तर शरीर छैन ! राहु पाप ग्रहका रुपमा परिचित छ र यसलाई ज्योतिष शास्त्रले छाया ग्रहका रुपमा पनि स्विकारेको छ । राहु जुन राशिमा बस्छ त्यही राशिको स्वामीको स्वभाव र प्रकृति ग्रहण गर्छ । यस अर्थमा राहु मंगल, सूर्य, शनि जस्तो पाप ग्रहको घरमा स्थित हुँदा त्यसको ताप-राप अझ बढ्छ, अझ उग्र हुन्छ र यसमा अझ बढी नकारात्मकता पाइन्छ ।

राहु आफैं पृथक प्रभाव दिने, पृथकता ल्याउने ग्रह हो । राहु सूर्य र शनिजस्ता पृथक प्रभाव भएकै राशिमा स्थित हुँदा त्यसको प्रभाव अझ बढ्छ । कुन्डलीमा यस्ता भावहरु पनि छन् जहाँ राहुको उपस्थितिले माता, सन्तान, पिता, जेठो दाजुका साथै श्रीमतीसँगको समागम सुखमा न्यूनता ल्याउने मात्र होइन पृथक नै गराउँछ । अपराध मनोवृत्ति, हत्या, कारागार, मादक पदार्थ, हातहतियार मोह यी सबै अनिष्ट राहु प्रधान जातकमा अर्थात् व्यक्तिमा देखिन्छ ।

राहु अचानक प्रकट हुन्छ, राहुको प्रभाव अचानक देखिन्छ, पीडित जातकलाई पीडापछि मात्र घटित घटना थाहा हुन्छ । राहुले एकाएक कार्य गर्छ र नतिजा दिएर जान्छ । चाहे त्यो शुभ होस् वा अशुभ तर घटना अचानक घटित हुन्छ यही ज्योतिषहरु फेल खान्छन् ।

जस्तो कि आकाशमा चम्किएको बिजुली र वज्र, समुद्रको छाल र सुनामी यस्ता घटना हुन जुन घटित भएपछि थाहा हुन्छ राहु त्यस्तै हो ।
ज्योतिषमा एउटा आश्चर्य के देख्छु भने म कहाँ अधिकांश जन्म पत्री देखाउन आउनेहरुमा राहु र शनि र अलिक कम मंगल पीडितहरु रहेका देखिए ।

यदि कसैको जीवन अस्त-व्यस्त छ, जीवनमा धेरै उतार-चढाव आइरहेको छ, पारिवारिक जीवनमा कटुता छ, सन्तान कुलतमा छन् र आफ्नो पकडबाट बाहिर पुगेका छन्, दुर्घटना, रोग-व्याधि आदि देखिँदै छ भने आफू राहु वा शनिबाट प्रभावित भएको बुझे हुन्छ ।

आफैंले आफूलाई हेर्नुस् कहीँ तपाईंमा उपरोक्त गुण वा स्वभाव त छैन ? राहुलाई कसले खत्तम गर्‍यो राहुलाई कसले सफल हुन दिएन सम्झनुहोस् र त्यसको साधना गर्नुहोस् राहु दोष समन हुन्छ । राहु छल, कपट र प्रपञ्चमा माहिर छ, यो तिलस्मी हुन्छ, विशेषत: राहु अपराधकर्म, तस्करी र राजनीतिमा माहिर हुन्छ । भगवान् विष्णुको सुदर्शन चक्र नै राहुको उपचार हो । राहुको दोष, राहुको उपचार, राहुको शान्ति सुदर्शन साधनाबाट मात्र प्राप्त गर्न सकिन्छ ।

नाग दोष, काल सर्प योग, राहुजन्य दोष
राहुको महादशा, अन्तरदशा आदि प्रतिकूलतालाई समन गर्न यी नाम पाठ गरे शुभ परिणाम हुन्छ :
जरत्कारु
जगदगौरी
मनशा
सिद्धयोगिनी
वैष्णवी
नागभामिनी
शैली
नागेश्वरी
जरत्कारुप्रिया
आस्तिकमाता
विषहरि
महाज्ञानयुता

मनशा माताको द्वादसाक्षर मन्त्र

ओम् ह्रीं क्षीं ऐं मनशा देव्यै स्वाहा

अष्टाक्षर कृष्ण मन्त्र

ओम श्रीं ह्रीं क्लीं कृष्णायनम:

यो जाप विशेष गरेर पञ्चमी तिथिबाट सुरु गर्नुहोस् र अर्को पञ्चमी तिथिसम्म नियमित जाप गर्नुहोस्, जापबीचमा भंग नहोस् ।

विशेष उपाय
जसको कुन्डलीमा कालसर्प योग छ, राहु दूषित छ, राहुबाट बिस योग निर्माण भएको छ, राहुबाट शुभ ग्रहमा दृष्टि पुगेर शुभ ग्रह पीडित छ, गोचरमा राहु अशुभ छ, राहुबाट ग्रहण योग निर्माण भएको छ, राहुको महादशा चलिरहेको छ, संकटा चलिरहेको छ, आफ्नै परिवारमा कोही कसैको अकालमा मृत्यु भएको छ, कुण्डलीमा पितृदोष देखिन्छ ।

सन्तानको पठनपाठनमा बाधा भइरहेको छ, परिवारमा कोही विक्षिप्त छ, मानसिक असन्तुलन छ भने नाग पञ्चमीको दिन दुई जोडा नाग बनाएर शिवालयमा चढाउने । यसका साथै शिवालयमा दूधको अभिषेक गर्ने । कुनै पनि दिन सपेराबाट साँप लिएर त्यसलाई निर्जन स्थानमा लगेर मुक्त गर्ने, काली नागमा नृत्य गरेको कृष्णको फोटो सधैं आँखा पर्ने ठाँउमा राख्ने ।

राहुले बुद्धि भ्रष्ट बनाउँछ त्यसैले घरमा सरस्वतीको फोटो राख्ने । नरिवल नदीमा सेलाउने । राहुको ग्रह शान्ति गराउने । लकुरु कुल्यै हुँ फट स्वाहा- मन्त्र जाप गर्ने । नागका मन्त्र जप्ने । नाग सहश्त्रनाम पाठ गराउने ।

प्रतिक्रिया