शनिबार, वैशाख २२, २०८१

भगवान् गणेशका स्वरुप कति ?

नेपालखोज २०७९ मंसिर १४ गते ५:००

हिन्दु धर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवान्को पूजाआराधना गरिन्छ । सबै किसिमको दुःख निवारणका लागि भगवान् श्रीगणेशको पूजा गरिन्छ । कुनै पनि शुभ कार्य गर्दा सबैभन्दा पहिले गणेशको नै पूजा गर्ने गरिन्छ । मंगलाचरणको सुरुमै ॐ श्री गणेशाय नमः मन्त्रोच्चारणबाट नै कामको थालनी गरिएको हुन्छ । श्रीगणेशको नाम मात्र लिनाले पनि मानिसहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ । ११ प्रकारका गणेश भगवान्का स्वरुपमध्ये कुनै एकको विधिपूर्वक पूजा गर्नाले घरमा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रही आएको छ ।

सेतो गणेश – भगवान् गणेशका विभिन्न स्वरुपमध्ये सेतो गणेशको प्रतिमा तपाईंले देख्नु भएको होला । मठ मन्दिरमा समेत गणेश भगवान्को सेतो प्रतिमा हुन्छन् । बजारमा पनि सेतो गणेशको मूर्ति किन्न पाइन्छ । यीनलाई ‘श्वेतार्क गणपति’ पनि भनिन्छ । ‘श्वेतार्क गणपति’को प्रतिमा घरमा स्थापित गर्नाले घरका सबै सदस्यहरुको दुख निवारण हुने धार्मिक विश्वास छ ।

मुगा जडित गणेश – मुगा सिंदूर रंगको एक रत्न हो । यसबाट निर्माण गरिएको गणेशको मूर्तिलाई पूजास्थानमा स्थापित गरी नित्य पूजा गर्नाले शत्रुको नास हुने विश्वास गरिन्छ ।

पन्ना जडित गणेश – पन्ना पनि एक हरिणे रङको रत्न हो । यसबाट बनेको गणेशको प्रतिमा पूजास्थानमा स्थापना गरी विधिपूर्वक पूजा गर्नाले सत्बुद्धि प्राप्ति हुन्छ। साथै सुख शान्ति र धन प्राप्ति हुने विश्वास पनि गरिन्छ ।

चाँदीको गणेश – धनको इच्छा राख्नेले चाँदीद्वारा निर्माण गरिएको गणेशको प्रतिमालाई पूजा गर्नुपर्ने विश्वास गरिन्छ । यस्तो प्रकारको प्रतिमा पूजास्थानमा स्थापित गरी पूजा गर्नाले धन–सम्पत्ति प्राप्ति हुने घरमा सुख शान्ति हुने विश्वास गरिन्छ ।

चन्दनद्वारा निर्मित गणेश – पूजामा प्रयोग हुने चन्दनबाट निर्माण गरिएको गणेशको प्रतिमा घरमा राखेर पूजा गर्नाले कुनै पनि प्रकारका विपतबाट बच्न सकिने धार्मिक विश्वास छ । यस प्रकारको गणेशको पूजा गर्नाले पारिवारमा सखु–शान्ति छाउने विश्वास गरिन्छ ।

पारद गणेश – धन–सम्पत्ति प्राप्तिका लागि पारोबाट बनेको गणेशको प्रतिमा पूजास्थानमा राख्नु उपयुक्त मानिन्छ । यस प्रकारको प्रतिमा घरमा राखेर पूजा गर्नाले तन्त्रको प्रभाव नपर्ने पनि बताइन्छ ।

बाँसुरी बजाउँदै गरेको गणेश – घरमा झैझगडा तथा विवाद हुन्छ भने बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा राखी पूजा गर्नु उत्तम मानिन्छ । बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा पूजा स्थानमा राखेर विधिपूर्वक पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने विश्वास गरिन्छ ।

हरियो रंगको गणेश – हरियो रंगको श्री गणेशको पूजा गर्नाले ज्ञान र बुद्धि प्राप्ति हुने विश्वास गरिन्छ ।साथै घरमा राखेर विद्यार्थीहरुले नित्य पूजा गर्नु उत्तम मानिन्छ ।

हात्तीमा विराजमा गणेश – हात्तीमा विराजमान श्रीगणेशको पूजा गर्नाले पैसा, इज्जत र स्वामिमान वृद्धि हुने धार्मिक विश्वास छ ।

नाच्दै गरेको गणश – नाच्दै गरेको भगवान गणेशको प्रतिमा पूजाकोठामा स्थापित गरी पूजा गर्नाले मनमा शान्ति मिल्ने तथा तनावबाट मुक्त भइने धार्मिक विश्वास छ ।

पञ्चमुखी गणेश – पञ्चमुखी श्रीगणेशको पूजा गर्नाले कुनै पनि तान्त्रिक क्रियामा कुनै पनि बाधा–अडचन नआउने धार्मिक विश्वास छ ।

प्रतिक्रिया