कोरोनाबारे भ्रम फैलाउने एकाउन्टमाथि कारबाही
‘फेसबुकले कोभिड-१९ का सम्बन्धमा भ्रम फैलाइरहेका २ करोडभन्दा बढी कन्टेन्ट फेसबुक तथा इन्स्टाग्रामबाट हटाइयाे’

हाइलाइट्स :
-फेसबुकले तीन हजारभन्दा बढी एकाउन्ट, पेज र ग्रुप खारेज गरेको छ ।
-कोभिड-१९ र यसको भ्याक्सिनहरुबारे गलत जानकारी दिनेहरु तारो ।
-दुई करोडभन्दा बढी कन्टेन्ट फेसबुक तथा इन्स्टाग्रामबाट हटाइयो ।
काठमाडौं । सोसल मिडिया प्लेटफर्म फेसबुकले कोभिड-१९ भ्याक्सिनबारे गलत जानकारी दिने एकाउन्टहरुविरुद्ध कारबाही सुरु गरेको छ । फेसबुकको एक ताजा रिपोर्टअनुसार त्यस्ता तीन हजारभन्दा बढी एकाउन्ट, पेज र ग्रुप खारेज गरिएको छ जो कोभिड-१९ र यसको भ्याक्सिनहरुबारे गलत जानकारी दिइरहेका थिए । फेसबुकका अनुसार उसले दुई करोडभन्दा बढी कन्टेन्ट पनि फेसबुक तथा इन्स्टाग्रामबाट हटाएको छ ।
फेसबुक भन्छ- २०२१ को जुन महिनाको त्रैमासिकमा घृणा फैलाउने सवा तीन करोड कन्टेन्टविरुद्ध कारबाही गरिएको छ । भनिन्छ अहिले अन्तर्राष्ट्रिय स्तरमै यस्ता सामग्रीमा कमी आएको छ । प्रत्येक दश हजार सामग्रीमध्ये घृणा र द्वेष फैलाउने खालका सामग्रीको संख्या घटेर पाँचवटामा सीमित भएको छ ।
फेसबुकका उपाध्यक्ष गाय रोसेन भन्छन्- हामीले यो त्रैमासिकमा सवा तीन करोड सामग्री हटायौं, जबकि पहिलो त्रैमासिकमा ९ मार्च २०२१० साढे दुई करोड सामग्री हटाइएका थिए । अर्कातिर इन्स्टाग्रामबाट ९८ लाख सामग्री हटाइयो जबकि पहिलो त्रैमासिकमा यो संख्या ६३ लाख थियो । लगातार तेस्रो त्रैमासिकमा फेसबुकमा घृणा फैलाउने सामग्रीमा केही कमी आएको देखिन्छ ।
उपाध्यक्ष रोसेनले भनेका छन्- जबदेखि फेसबुकले यस्ता सामग्रीहरुबारे रिपोर्ट गर्न थाल्यो, तबदेखि फेसबुक र इन्स्टाग्रामबाट द्वेष तथा घृणा फैलाउने सामग्री हटाउने काममा १५ गुणा वृद्धि भएको छ । रोसेनले भनेका छन्- दोस्रो त्रैमासिकमा अभद्र भाषाको प्रयोग शून्य दशमलव पाँच प्रतिशत थियो अर्थात् प्रतिदश हजार सामग्रीमध्ये पाँचवटामा यस्तो भाषा प्रयोग भएको थियो ।
रोसेनले भनेका छन्- ‘यो कमी फेसबुकले सक्रियताका साथ काम गरेकाले आएको हो । हामिले आपत्तिजनक सामग्री पहिचान गर्ने प्रणालीमा पनि लगातार सुधार गरिरहेका छौं । एआई (कृत्रिम बुद्धिमत्ता) मा हाम्रो लगानीले हामीलाई त्यस्ता शब्दको प्रयोगका सम्बन्धमा बढी जानकारी प्राप्त हुन्छ । यो प्रविधिले हामीलाई अर्बौं प्रयोगकर्ता तथा कैयौं भाषामा आफ्नो नीति लागु गर्न मद्दत पुर्याउँछ ।’
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया