तालिबानको उर्दी– सातादिनमा देश छाड, अमेरिकाले सहजै छाड्ला अफगानिस्तान ?
दिइएको डेडलाइनभित्र आफ्ना सेना फिर्ता नलगे त्यसको परिणाम अमेरिकाले भोग्नुपर्ने तालिबानको चेतावनी ।

काबुल । तालिबानले एक साताभित्र अफगानिस्तान छाड्न अमेरिकी सेनालाई उर्दी जारी गरेको छ । एक साताअघि मात्रै सत्ता कब्जा गरेको तालिबानले अमेरिकालाई यही अगस्त ३१ तारिखभित्र मुलुक छाड्न भनेको हो ।
तालिबान विद्रोही समूहसँग सम्झौता गरी अमेरिकाले करिब दुई महिनाअघि अफगानिस्तान छाड्ने घोषणा गरे पनि अमेरिकाले अझै करिब १० हजारको हाराहारीमा आफ्ना सेना अफगानिस्तानमै राखेको छ । अधिकांश अमेरिकी सेना भने फिर्ता भइसकेका छन् ।
तालिबानका प्रवक्ता सुहैन साहिनले अमेरिकालगायत पश्चिमा देशलाई दिएको आदेशको अन्तिम समयसीमा आगामी अगस्त ३१ तारिखसम्म तोकिएको छ । ३१ तारिख डेडलाइन हुने र कुनै पनि हालतमा नथपिने प्रवक्ता साहिनले जिकिर गरेका छन् । अमेरिकी सेना ३१ तारिखभित्र आफ्नो देश फर्किसक्ने अमेरिकी राष्ट्रपति जो बाइडनले आश्वासन दिइसकेको पनि प्रवक्ता साहिनले बताएका छन् ।
उनले एक साताभन्दा बढी अमेरिकी सेना बसे फेरि अफगानिस्तान कब्जा गर्ने संकेत हुनसक्ने आशंका गरेका छन् । बदला लिने सोचले डेडलाइनभित्र आफ्ना सेना फिर्ता नलगे त्यसको परिणाम अमेरिका आफैंले भोग्नुपर्ने तालिबानले चेतावनी दिएको छ ।
यता बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भोलि (मंगलबार) सात देशको समूह (जी –७) को बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडनलाई आफ्ना सेना अफगानिस्तानमा केही समय राख्न सल्लाह दिनसक्ने सम्भावना रहेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
अफगानिस्तानले अमेरिकालगायत पश्चिमा देशलाई दिएको डेडलाइनले अब अमेरिकाको भूमिका अफगानिस्ताप्रति कस्तो हुने भन्ने विषय गम्भीर भएको छ । तालिबानको उर्दीले अमेरिकालाई थप चिढ्याएको पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले विश्लेषण गरेका छन् ।

अमेरिकाले २१ वर्षसम्म अफगानिस्तानमा रहेर तालिबानविरुद्ध युद्ध गरेको थियो । राष्ट्रपति असरफ घानीलाई सघाएको अमेरिकाले अन्ततः तालिबान विद्रोही समूहसँग सम्झौता गर्दै आफ्ना सेना फिर्ता लाने घोषणा गरेको थियो ।
अमेरिकाले आफ्ना सेना फिर्ता लाने घोषणा गरेसँगै सशस्त्र विद्रोह गर्दै आएका तालिबानी लडाकुले एकपछि अर्को राज्य गर्दै अन्ततः अफगानिस्तान कब्जा गर्न सफल भएका हुन् । अमेरिकाले आफ्ना सेना फिर्ता लैजाने घोषणा गरेको ४५ दिनमै तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको थियो ।
-बीबीसी

प्रतिक्रिया