तालिबानले अझै पंजशिर घाँटीलाई छुनै सकेन !

काबुल । अफगानिस्तानको पंजशिर राज्यका बासिन्दाले आफूमाथि हस्तक्षेप नगर्न तालिबानलाई चेतावनी दिएका छन् । तालिबान लडाकुले सत्ता कब्जा नै गरेको अवस्थामा उक्त राज्यका बासिन्दाले आफ्नो राज्य तालिबानले कुनै हालतमा कब्जा गर्न नसक्ने चेतावनी दिएका छन् । यता तालिबानले भने पंजशिर घाँटी (उपत्यका) लाई घेरेर कब्जामा लिने रणनीति बनाइरहेको छ ।
अहिले पंजशिर घाँटीलाई लिएर तालिबान र उसका विद्रोहीहरूले अलगअलग दाबी गरिरहेका छन् । तालिबानी समूहले यस क्षेत्रलाई घेर्ने चेतावनी दिइरहेका बेला विरोधीहरू भने घेर्ने चेष्टा नगरी टाढै बस्न चेतावनी दिँदै छन् । दुवै पक्षले एक-अर्कालाई चेतावनी दिइरहेका बेला कुनैबेला पंजशिरबासी र तालिबानबीच रक्तपातपूर्ण युद्ध हनु सम्भावना पनि देखिएको छ ।
तालिबानी नेता जबिउल्लाह मुजाहिदले सामाजिक सन्जाल ट्विटरमा पंजशिर घाँटीलाई तीनतिरबाट घेर्ने जनाएका छन् । यस्तै उनले शान्ति वार्ताको माध्यमबाट समस्या सुल्झाउन सकिने पनि जनाएका छन् । तालिबानले सिंगो अगानिस्तान कब्जा गर्दा पनि उक्त ठाउँ अझै कब्जा गर्न सकेको छैन । दैनिकजसो पंजशिर घाटीका बासिन्दा वा नेताहरूले अफगानिस्तानमा तालिबानको कब्जाविरुद्ध आन्दोलन गरिरहेका छन् ।
बीबीसी उर्दु सेवाले उक्त क्षेत्र कब्जा गर्न तालिबानी कमान्डर कारी फसिउद्दीनको नेतृत्वमा युद्ध छेड्ने जानकारी प्राप्त भएको जनाएको छ । यता तालिबानविरुद्ध अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्ला सालेहले आन्दोलन चकाउँदै गएका छन् । उनले केही दिनअघि आफू अफगानिस्तानमै रहेको र हाल अफगानिस्तानको कार्यवाहक राष्ट्रपति भएको सामाजिक सन्जालमार्फत जनाएका थिए । उनले आफू तालिबानसँग नझुक्ने पनि चेतावनी दिँदै आएका छन् ।

उपराष्ट्रपति सालेह तालिबानविरुद्ध विद्रोह गर्ने आजभोलि एकमात्र नेताका रुपमा सार्वजनिक हुँदै आएका छन् । उनले तालिबानविरुद्ध आफ्नो लडाकुलाई पनि सशक्त रुपमा उतारेको जनाएका छन् । तालिबानले आफ्ना लडाकुमाथि आक्रमण गरे सशक्त प्रतिकार गर्ने उनको चेतावनी छ । यस इलाकाबाट आफ्ना लडाकुलाई बचाउन पनि उनले तालिबानलाई चेतावनी दिएका छन् ।
अफगानिस्तानको निवर्तमान सरकारका एक पूर्वसैनिक अधिकारीले तालिबानविरुद्ध पूर्वसेनाहरूले लामो संघर्षका लागि तयार रहेको जनाएका छन् । अहिले अफगानिस्तानमा सबैभन्दा बढी चर्चामा रहेको ठाउँ पंजशिर घाँटी (उपत्यका) हो । यो काबुल सहरदेखि केही किलो मिटर उत्तरमा पर्छ । यो ठाउँलाई हिन्दुकुश पहाडले घेरेको छ । विरोधीहरूले यहाँ हत्तपत्त आक्रमण गर्न सक्दैनन् । -बीबीसी

प्रतिक्रिया