‘दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गरिए निःसर्त पार्टी एकता हुन्छ’

नेपालखोज २०७८ भदौ ८ गते १४:४५

काठमाडौं । नयाँ दल दर्ता प्रक्रियामा रहेका नेता माधवकुमार नेपालले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गरिए निःसर्त एमाले पार्टीको एकता हुने जनाएका छन् ।

चन्द्रागिरि हिल्स रिसोर्टमा आज (मंगलबार) आफूनिकट नेताहरू सहभागी बैठक बस्नुअघि उनले आगामी १०औं महाधिवेशनबाट ७० वर्षे उमेरहद हटाए आफू निःसर्त एकता गरी एमालेमा फर्कने जनाएका हुन् ।

उनले ७० वर्षे उमेरहद हटाएर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण भए ओलीलाई साथ दिनेलाई नै नेता मानेर एकता प्रक्रियामा फर्कने प्रतिबद्धता पनि जनाएका छन् । केही दोस्रो तथा तेस्रो तहका नेताहरुले एमाले एकताको प्रयास गरिरहेका बेला नेता नेपालले नयाँ पार्टी गठनको अभियान पनि तीव्र पारेका छन् ।

यता एमालेका तेस्रो धारका नेताहरु र अध्यक्ष केपी शर्मा ओलीबीच हिजो नै १० बुँदे समझदारी कार्यान्वयन गर्ने सहमति बनेको थियो । सहमति भएकै दिन तेस्रो धारका नेताहरूले सांसद र केन्द्रीय सदस्यलाई प्रभावित पार्न सक्ने जोखिम देखेर नेपालले आफूनिकट नेताहरूलाई रिसोर्ट पुर्‍याएको संस्थापन पक्षका नेताले जनाएका छन् ।

प्रतिक्रिया