अफगानिस्तानमा करिब १ करोड बालबालिका संकटमा

काबुल । अफगानिस्तानको समस्या अझ गहिरिँदै गए त्यहाँ मानवीय संकट सिर्जना हुने बताउन थालिएको छ । संयुक्त राष्ट्रसंघीय संस्था युनिसेफका अनुसार अफगानिस्तानमा लगभग एक करोड बालबालिकालाई जीवित राख्न मानवीय सहायताको आवश्यकता छ ।
अफगानिस्तानमा तालिबानको कब्जापछि त्यहाँको स्थिति निकै खराब हुँदै गएको छ । अहिले अफगानिस्तानका बालबालिकाहरु भोकमरी र रोगको सिकार भएको बताइन्छ ।
युनिसेफका कार्यकारी निर्देशक हेनरिटा एच. फोरले भनेका छन्, ‘आज, अफगानिस्तानका लगभग एक करोड बालबालिकालाई जीवित राख्न मानवीय सहायताको आवश्यकता छ । यो वर्ष अफगानिस्तानमा करिब दश लाख बालबालिका गम्भीर कुपोषणबाट पीडित हुने अनुमान छ । उनीहरुले समयमा इलाज नपाए कतिपयको मृत्युसम्म हुन सक्छ ।’
उता संयुक्त राष्ट्रसंघकै अर्को संस्था विश्व स्वास्थ्य संगठनले अफगानिस्तानको आधाभन्दा बढी नागरिकलाई मानवीय सहायताको आवश्यकता भएको जनाएको छ । डब्लूएचओका प्रवक्ताका मुताबिक, अफगानिस्तानमा विद्यमान खडेरीका कारण स्थिति थप बिग्रने आशंका छ । डब्लूएचओ भन्छ- अफगानिस्तानमा बिनाकुनै अवरोध स्वास्थ्य सेवाहरु निरन्तर जारी रहनुपर्छ ।
प्रतिक्रिया