दिगो विकास लक्ष्य प्राप्तिका राजनीतिक संयन्त्र बनाउन निर्देशन

नेपालखोज २०७८ भदौ ८ गते १६:११

काठमाडौं ।संघीय संसद, राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले दिगो विकासका लक्ष्य प्राप्तिका लागि सशक्त राजनैतिक संयन्त्र बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलवार सिंहदरवारमा बसेको बैठकले दिगो विकास लक्ष्य प्राप्तिको लागि सशक्त राजनैतिक संयन्त्र र प्रतिवद्धता खाँचो भएकोले यसमा ध्यान दिन सरकारलाई निर्देशन दिएको हो ।दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा सरकारको प्रतिवद्धता अनुसार राष्ट्रिययोजना आयोगले प्रभावकारी अनुगमन र कार्यान्वयन गर्न समेत समितिले निर्देशन दिएको छ ।

आगामी दिनमा पनि दिगो विकास लक्ष्यमा प्राप्तिका सम्बन्धमा समिक्षा गरिने भन्दै सभापति तारादेवी भट्टले दिगो विकास र लक्ष्य हासिल गर्ने सवालमा र सरकारको प्रतिवद्धता अनुसार योजना आयोगले प्रभावकारी अनुगमन र कार्यान्वयनको लेखाजोखा राम्रोसँग गर्न आग्रह गरेकी छन् ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले राजनीतिक नेतृत्वले मुलुकलाई विकासको गतिमा लैजाने सवालमा अकल्पनीय काम गर्न सक्ने बताए । दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा पनि ससक्त राजनीतिक संयन्त्र र प्रतिवद्धताको खाँचो रहेको उनको भनाइ थियो । समाज परिर्वतन गर्न सक्ने राजनितिक शक्तिलाई दिगो विकास लक्ष्य हासिल गर्ने सन्र्दभमा पनि शक्तिको रुपमा पनि प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । त्यसका लागि राजनैैतिक नेतृत्वबीच साझा समझदारी र प्रतिवद्धता दुवै आवश्यक रहेको उनको तर्क छ ।


बैठकमा नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभाका सदस्यहरुले दिगोविकास लक्ष्य हासिल गर्ने सन्र्दभमा सदस्यहरुले खेल्ने भूमिकालाई छलफलको विषय बनाउनुपर्ने बताए । दिगो विकासका निम्ति राजनीतिक नेतृत्वको भूमिका धेरै महत्वपूर्ण हुने बताए ।

त्यस्तै माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले संघ, प्रदेश र स्थानीय तहको योजना आयोगको योजना बनाउँदाको समन्वय गर्दा संयोजनकारी भूमिका विकास गरेर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया