शुक्रबार, वैशाख ७, २०८१

मुख्यमन्त्रीलाई थप्पड हान्छु भन्दै धम्की दिने केन्द्रीय मन्त्री पक्राउ

नेपालखोज २०७८ भदौ ८ गते १८:४०

महाराष्ट्र । मुख्यमन्त्रीलाई थप्पड हान्ने चेतावनी दिएका भारतका एक केन्द्रीय मन्त्री पक्राउ परेका छन् । भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई थप्पड हान्ने धम्की दिएका केन्द्रीय मन्त्री नारायण राणे आज (मंगलबार) अपराह्‌न पक्राउ परेका हुन् ।

केन्द्रीय मन्त्री राणेले हिजो (सोमबार) एक कार्यक्रममा भाषण गर्दै मुख्यमन्त्री ठाकरेलाइ थप्पड हान्ने चेतावनी दिएको विषय भारतमा विवादग्रस्त भएको थियो । राणेलाई एक धार्मिक कार्यक्रममा सहभागी भएको बेला महाराष्ट्र राज्यको रत्नागिरि राज्यबाट गिरफ्तार गरिएको हो ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार केन्द्रीय मन्त्री राणेले महाराष्ट्रको रायगढमा ‘जनआशीर्वाद यात्रा’ नामको एक कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री ठाकरेलाई भारतीय स्वतन्त्रता वर्षको समेत हेक्का नभएको टिप्पणी गरेका थिए ।


केही दिनअघि मुख्यमन्त्री ठाकरेले भारत स्वतन्त्रता वर्षबारे एक कार्यक्रममा एक नेतासँग बुझ्न खोजेका थिए । सोही विषयलाई लिएर केन्द्रीय मन्त्री राणेले आफू त्यहाँ भएको भए थप्पड दिने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया