नेपालसहितका नेतालाई एमालेमै फर्किन आग्रह

काठमाडौं । नेकपा एमालेले अलग्गै पार्टी दर्ता गर्न लागेका माधव नेपालसहितका नेता, कार्यकर्तालाई मूल घरमै फर्कन आह्वान गरेको छ ।
पार्टी एकताको पक्षमा उभिएका नेताहरुसहित मंगलबार बसेको पार्टी स्थायी समिति बैठकले विशेष प्रस्ताव पारित गर्दै अलग्गै पार्टी दर्ताका लागि क्रियाशील भएका नेता, कार्यकर्ताहरुलाई पार्टीको मूल घरमै फर्कन आह्वान गरेको हो ।
छुट्टै दल दर्ता प्रक्रियाबाट अलग भई पार्टी एकताको पक्षमा योगदान गर्ने नेताहरुलाई पार्टीमा स्वागत गरिने र उनीहरुमाथि कुनै पनि प्रकारणको भेवभाव वा पूर्वाग्रह नराखिने प्रस्ताव पारित गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले १० बुँदे सहमतिको कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
त्यसका लागि पार्टीको केन्द्रिय कमिटीमा रहेर क्रियाशील हुने केन्द्रिय कमिटी, केन्द्रिय निकाय, प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीलगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरुलाई २०७५ साल जेठ २ गते पूर्वको जिम्मेवारीमा फर्कन निर्देशन समेत दिएको छ ।
प्रवक्ता ज्ञवालीले १० बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा उत्पन्न हुन सक्ने समस्याहरु समाधान गर्न कार्यदल बनाइएको छ । कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् । एमालेले २०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर पार्टीको सदस्यता नविकरण गराउने निर्णय पनि गरेको छ ।
एमालेले पार्टीको विधान महाधिवेशन असोज ४, ५ र ६ गते काठमाडौंमा गर्ने र पार्टीको दशौं महाधिवेशन मंसीर १०, ११ र १२ गते काठमाडौंमा आयोजना गर्ने निर्णय पनि गरेको छ । विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रस्तावहरुमाथि छलफल गर्न आगामी भदौ २५ र २६ गते पार्टी स्थायी समिति र २७ र २८ गते केन्द्रिय समिति बैठक बोलाउने निर्णय पनि गरिएको प्रवक्ता ज्ञवालीले बताए ।
एमालेले पार्टी महाधिवेशनको तयारीका लागि कार्तिक ६ गते वडा अधिवेशन र कार्तिक ९ गते पालिका वा सो सरहको कमिटीको अधिवेशन सम्पन्न गर्ने पनि जानकारी गराएको छ । प्रवक्ता ज्ञवालीले पार्टी एकताको सन्देश दिने गरी देशभर आगामी भदौ १६ देखि २० गतेसम्म केन्द्रीय प्रशीक्षकहरुको उपस्थितिमा सबै जिल्लामा जिल्ला कार्यकर्ता भेला र जनसंगठनहरुको केन्द्रिय कार्यकर्ता भेला आयोजना गर्ने बताए ।
स्थायी समिति बैठकले आज गरेको निर्णय एमालेले भोली (बुधबार)तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुको उपस्थितिमा पार्टीको निर्णय सार्वजनिक गरिने बताइएको छ । एमालेले स्थायी समितिको आजको बैठकको निर्णयलाई अनुमोदन गर्न यही भदौ १० गते केन्द्रीय कार्य समितिको बैठक समेत बोलाएको छ ।

प्रतिक्रिया