जर्मनीमा पिज्जा डेलिभरी गरिरहेका छन् पूर्वसञ्चारमन्त्री

काठमाडौं । अफगानिस्तानमा तालिबानको एजेन्डा देखेर डराएका आममानिसका साथै सत्तामा बसेका मानिसहरु पनि देश छोडेर भागिरहेका छन् । यसबीच अफगानिस्तानका पूर्वसञ्चारमन्त्रीको एउटा यस्तो समाचार बाहिर आएको छ जसमा विश्वास गर्न मुस्किल छ । यो खबरले मानिसलाई आश्चर्यचकित मात्र तुल्याउँदैन धेरै कुरा सोच्न बाध्य पनि बनाउँछ । अफगानिस्तानका पूर्वसञ्चारमन्त्री सैयद अहमद साहले जर्मनीको लिपजिग सहरमा शरण लिएका छन । उनी त्यहाँ विगत दुई महिनादेखि पिज्जा डेलिभरी ब्वायका रुपमा काम गरिरहेका छन् ।
जब अफगानिस्तानमा लोकतन्त्र थियो सैयद अहमद राजाजस्तै थिए तर तालिबानीहरु फेरि जुर्मुराउन थाले अनि सैयद भागेर जर्मनी पुगे, रंक बनेर । विश्वास गर्न पनि गाह्रो छ चारैतिर सुरक्षाकर्मीहरुको कडा पहराबीच सुट-बुटमा ठाँटिने सैयद अहमद साह आज पिज्जा डेलिभरी गरिरहेका छन् ।
सैयद अहमद २०२० को डिसेम्बरमै अफगानिस्तान छाडेर जर्मनी पुगेका थिए । सैयद निकै पढेलेखेका अफगानी हुन्, उनले अक्सफोर्ड युनिभर्सिटीबाट कम्युनिकेसनमा एमएस्सी गरेका छन् । उनी इलेक्ट्रिकल इन्जिनियर पनि हुन् । सैयदले दुनियाँभरका १३ ठूला सहरमा २३ वर्षजति अलग-अलग किसिमका काम गरेका छन् । यद्यपि यसपटक देश छोडे पछि सम्भवत: भाग्यले पनि उनको साथ छाडेको छ ।
सैयद अहमदले एक न्युज एजेन्सीसँग कुरा गर्दै भनेका छन् कि सुरुवाती दिनमा मैले यो सहरमा कुनै काम पाइरहेको थिइनँ किनभने मलाई जर्मन भाषा आउँदैनथ्यो । तत्काल म पिज्जा डेलिभरीको काम जर्मन भाषा सिक्ने उद्देश्यले गरिरहेको छु । यो काममार्फत म सहरको अलग-अलग भागका मानिसहरुसँग भेटिरहेको छु ताकि आउने दिनहरुमा आफूलाई थप निखारेर आफूले पढेको विषयमा राम्रो काम पाउन सकुँ ।
अफगानिस्तानमा अहिले तालिबानी कब्जा भइसकेको छ र देशका राष्ट्रपतिसहित कैयन् ठूला नेता अफगानिस्तान छोडेर अलग-अलग देशमा शरण लिन बाध्य छन् । यद्यपि पहिलोपटक कुनै अफगानमन्त्री यसरी पिज्जा बेचिरहेको पाइएका छन् ।
-विभिन्न सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया