पूर्वप्रधानन्यायाधीश भन्छन,‘अहिलेको राजनीति राजाको पालाजस्तै’

काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरुले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई सचेत गराएका छन् ।
पूर्व प्रधानन्यायाधीशद्धय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरुको अहमताका कारण संविधान माथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरुलाई सचेत गराएका छन् । संविधानलाई कसैले पनि गम्भिरतापूर्वक नलिएको उनको आरोप छ ।
यस्तै, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अहिलेको राजनीति राजाको पालोको नमूना जस्तो भएको टिप्पणी गरेकी छन् । उनले संविधानको गलत व्याख्या र प्रयोग गरेर राजाको नमूना जस्तो राजनीति दलहरुले गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । अहिलेको राजनीतिमा सबै मै हुँ भन्ने अहंकार र आफ्नो दलको नेताहरुलाई समेत मिलाउन नसकेर दलमा कोलाहल पैदा भईरहेको कार्कीको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले अहिलेको सरकार सर्वोच्चको परमादेशबाट नआएको दावी गरिन । उनले सांसदहरुले धारा ७६(५) अनुसार आफ्नो अधिकारलाई प्रयोग गरेर हस्ताक्षर बुझाएपछि मात्रै सर्वोच्चले प्रधानमन्त्रीको नियुक्ति प्रारम्भ गरेको जिकिर गरिन ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता खिमलाल भट्टराईले अहिलेको मुख्य समस्या भनेको संविधानको व्याख्या र प्रयोगमा भएको बताइन् । उनले संविधानको धारा ७६ बनाउँदा कुन हिसावले संविधान लेखिएको थियो त्यसको स्पष्टता आवश्यक रहेको उल्लेख गरे ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुनले संविधानको नेतृत्व गर्ने दलहरु नै संविधान कमजोर पार्न लागि परेको बताए ।

प्रतिक्रिया